सिड्नी । नेपालीको बाक्लो उपस्थिति रहेको अस्ट्रेलियाको सिड्नीमा नेपाली मुलका व्यवसायी म्याक्सका उपनामले परिचित महेश प्रसाईंले छलाङ मारेका छन् । रगडेलमा उनले हालै शुभारम्भ गरेको कन्ट्री फ्रेस रगडेलमा न्यू साउथ वेल्स राज्यका प्रिमिअर क्रिस मिन्स,न्यू साउथ वेल्सका सांसद् तथा मन्त्री स्टेफेन क्याम्पर लगायतले उद्घाटन गरे ।
नेपाली व्यावसायीको व्यवसायलाई प्रवर्द्धन गर्न सरकारी क्षेत्रबाट उच्च अधिकारी आएको संवत यो पहिलोपटक हो । उद्घाटन समारोहमा न्यू साउथ वेल्सका प्रिमिअर क्रिसले म्याक्सलाई आफुले लामो समयदेखि चिनेको बताए । ‘उनलाई व्यवसायमा प्रवर्द्धन गर्न पाउँदा निकै उत्साहित छु । उनको मेहनतले नै उनलाई सफल बनाएको हो । उनको यात्रा अझैँ अगाडी बढ्ने छ’, उनले भने ।
कार्यक्रममा नेपाली वाणिज्य दूत सञ्जीव शर्माले म्याक्सको संघर्षलाई नजिकबाट देखेको बताउँदै अहिलेको सफलताका लागि म्याक्सलाई बधाई दिए । विशेष अतिथिको रूपमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, न्यू साउथ वेल्सका प्रतिष्ठित सामुदायिक नेताहरू, रगडेल तथा आसपासका तीन सय भन्दा बढी स्थानीय व्यवसायी, उद्यमी, र बासिन्दाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तब्य राख्दै म्याक्सले आफुलाई यो स्थानसम्मा ल्याउन सहयोग पुर्याउने समुदायका अगुवा, परिवारजन, सहयात्रीहरु लगायतलाई धन्यवादसहित मायाको चिनो प्रदान गरेका थिए ।
केही वर्षदेखि लोकप्रिय बन्दै गएको एभरेस्ट बुचरीलाई विस्तार गर्दै म्याक्सले नयाँ व्यवसाय संचालनमा ल्याएका हुन् । एनआरएन अभियानदेखि युवा र विद्यार्थीका लागि काम गर्दै आएका म्याक्स एक सामाजिक स्वयंसेवीका रूपमा पनि परिचित छन्।