फिल्म । प्रकाश शाह नेपाली फिल्मका लागि परिचित नाम हुन् । संख्यात्मक हिसाबले दोस्रो फिल्म प्रदर्शनको तयारीमा रहेता पनि उनले निर्वाह गरेको भूमिका र आवरणले उनको क्षमतालाई प्रस्ट्याईसकेको छ । सुदूरपश्चिममाका प्रकाशले फिल्म ‘रावायण’मा तराई मूलका ‘काल्का’ चरित्र निर्वाह गरेकाछन्। ‘फरक चरित्र निभाउने मेरो चाहना रावायणको कथा सुनेपछि पुरा हुनेमा म ढुक्क भएँ । किनकि निर्देशक सुदर्शन थापाले मेरो चरित्र सुनाउँदा यो चरित्रलाई दर्शकले पछिसम्म सम्झिरहन्छन् भन्ने मलाई थाहा थियो’, प्रकाशले भने ।
उनले यसका लागि लवज र स्थानीयतालाई अपनाउन केही समय विरगंजमा बसेर अनुसन्धान गरेका थिए । उनका अनुसार ‘काल्का’ चरित्र कालको पनि काल हो । ‘म पश्चिमको ठकुरी, तर फिल्मको क्यारेक्टर चाहिँ टिपिकल भोजपुरी देहाती छ । सुदर्शन दाईसँग सहकार्यको कुराकानी पछि चरित्रकै लागि काठमाडौंबाट वीरगञ्ज गइहालें । मलाई देहातीबारे केही थाहा थिएन, पश्चिमको चौधरी बारेमा मात्र आइडिया थियो । म वीरगञ्जमा १० दिन बसें । त्यो बसाईमा देहातीले कस्तो लुगा लगाउँछ, कसरी बोल्छ भन्ने बुझें’, प्रकाशले भने । प्रकाशका अनुसार वीरगञ्ज बसाईंका क्रममा त्यस क्षेत्रमा १०–१० किलोमिटरको फरकका गाउँमा पनि फरक फरक भाषा हुँदो रहेछ भन्ने थाहा पाए । त्यसपछि उनी थप भाषा बुझ्न परासी निस्किए ।
फिल्ममा प्रकाशको लुक्स टिजर र ट्रेलरमा प्रष्ट देखिएको छ । तर यो लुक्स निकाल्न उनको मेहनत कम छैन । ‘क्यारेक्टरकै लागि तीन महिनासम्म दाह्रीजुँगा र कपाल काटिनँ । कपाल पनि स्थानीय देहातीकै जस्तो बनाएँ । मैले मुख धुने, नुहाउने काम गरिनँ । म जतिसक्दो फोहोरी देखिन चाहन्थें । मैले केही न केही देखाउनुपर्छ, यो मेरो लागि पनि राम्रो हो भन्ने थियो । मेरो जीवन र करियरमा यो क्यारेक्टरले अभिनेताका रुपमा स्थापित गराउँछ भन्नेमा म ढुक्क थिएँ’, प्रकाश भन्छन् ।
फिल्ममा उनको र निकिता चण्डकको एक आइटम गीत छ । प्रकाशका अनुसार ‘काल्का’ चरित्र नाँचगानमा पनि उत्तिकै रमाउँछ । ‘त्यो आइटम गीतको सुटिङ हेर्न आएका स्थानीयहरु मलाई देखेर भाग्थे । मेरो लुक्स देखेर बच्चाहरु तर्सिन्थे । त्यो चाहिँ मेरो लागि एकदमै खुशीको क्षण थियो । मैले कुन तहको काम गरेको रहेछु भन्ने अनुभव हुन्थ्यो’, उनी भन्छन् ।
फिल्मको टिजर हेरेपछि अभिनेता तथा निर्देशक विराज भट्टले उनको कामको तारिफ गरेको सम्झँदा प्रकाश निकै खुशी छन् । प्रकाशलाई ‘काल्का’ चरित्रबाट बाहिर निस्कन उत्तिकै गाह्रो भएको रहेछ ।
‘फिल्मको काम सकेपछि क्यारेक्टरबाट बाहिर निस्कन निकै समय लाग्यो । मैले हातले मुसेर खाना खान पाएको थिइनँ । चम्चीले मात्र खाएको थिएँ । सुटिङ सकेर काठमाडौं आएपछि सुदर्शन दाईलाई ‘मेरो अझै कहीँ कतै बाँकी छ कि’ भनेर सोधें । किनकी तराईको ४४ डिग्रीसम्मको गर्मी, त्यसमाथि म नुहाउन पनि पाएको थिइनँ । म पुरै बिरामी भएको थिएँ । म तराईमा जन्मिए पनि त्यतिको तातो र गर्मी अनुभव मैले गरेको थिइनँ’, उनी भन्छन् ।