
फिल्म । भदौ ७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘सतीदेवी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज यहाँ सुन्धारास्थित सिभिल मलमा रहेको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक लक्ष्मण सुवेदीले ट्रेलर सार्वजनिक गरेका हुन् ।
महिला सशक्तीकरणको सन्देश दिने सामाजिक कथावस्तु बोकेको फिल्ममा शिर्ष भूमिकामा मलिका महतले अभिनय गरेकी छिन् । छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजलाई कटाक्ष गर्ने यो फिल्मले यसअघि विभिन्न अवार्डमा समेत उत्कृष्ट भईसकेको छ । छोरी हुनुको महत्व दर्शाउन खोजेको फिल्ममा हर्षिका वली, मन्जिला बाँनियाँ, सृजना अधिकारी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, भोलाराज सापकोटा, सन्देश लिम्बू आदिको अभिनय रहेको छ ।
विशाल सुवेदी र श्रीदेवी सुवेदी निर्माता रहेको फिल्मको सार्वजनिक ट्रेलरले वंश धान्नका लागि छोरा चाहिन्छ भन्ने पितृसतात्मक सोचलाई प्रश्न गरेको छ । दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको ‘सतीदेवी’मा निर्देशक सुवेदी स्वयंको स्क्रिप्ट लेखन तथा निर्माण छ भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछ ।
