
फिल्म । यही असार २८ मा प्रदर्शन हुने मगर समुदाय र संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ काठमाडौँमा प्रिमियर गरिएको छ । निर्देशक अनिल बुढा मगरले आफ्नो डेब्यु फिल्ममा विवाह संस्कृतिलाई प्रस्तुत गरेका छन् । फिल्मको प्रिमियर अगाडि मगर संस्कृति झल्किने पहिरन र नृत्य प्रस्तुत गर्दै निम्तालुलाई स्वागत गरिएको थियो ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर समुदायको पहिरनमा उपस्थित थिए । फिल्ममा उनीहरुको प्रेमलाई मगर संस्कृतिसँग जोडेर प्रस्तुत गरिएको छ । मिरुनालाई प्राप्त गर्न दया घर ज्वाइँ बस्नु पर्ने प्रचलनलाई फिल्ममा देखाईएको छ । फिल्म हेर्न आइपुगेकाले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरूले मगर समुदायको संस्कृतिसँगै रुकुमको सुन्दरतालाई फिल्ममा हेर्न पाइएको प्रतिक्रिया दिए ।
निर्देशक मगरले ट्रेलर हेर्दा ‘जारी’ सँग मिल्दोजुल्दो देखिए पनि मगर संस्कृति लिम्बू भन्दा निकै फरक रहेको बताए । उनले भने,‘आफुलाई मन परेको महिला पात्रलाई तानेर विवाह गरेको देखेर उस्तै लाग्यो होला किनकि हामी आदिवासी समुदायका हरेक जातिमा यो प्रचलन समान जस्तै छ । तर, यसको प्रक्रिया र प्रस्तुती फरक छ । किनकि हाम्रो संस्कृति नै भिन्न छ ।’


जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय रहेको छ ।
जनक घर्ती मगर निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निर्देशक मगरसँगै बिनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भन्डारीको सम्पादन रहेको छ ।