फिल्म । चलचित्र विकास बोर्डको संयोजनमा नेपाल पर्यटन बोर्डमा शुक्रबार ‘चलचित्र उत्सव’ सम्पन्न भएको छ। हिमवत्खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलन अन्तर्गत आयोजना गरिएको उक्त उत्सवमा फिल्म भाषा सम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा नेपाली उपन्यास ‘बसाइँ’ मा आधारित फिल्म ‘बसाइँ’ को विशेष प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको पहिलो चरणमा आयोजित ‘फिल्ममा भाषा’ विषयक अन्तरक्रियामा प्रयोग गरिने भाषा तथा फिल्मले भाषाको विकासमा खेल्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो । डा. घनश्याम खतिवडाको सहजीकरणमा भएको कार्यक्रममा कलाकार हरिहर शर्मा, डा. रमेश भट्टराई र डा. बिन्दु शर्माले धारणा राख्नुभएको थियो । यस अन्तरक्रियाले नेपाली फिल्ममा भाषाको विविधता, प्रभाव, र त्यसको सांस्कृतिक सन्दर्भबारे गहिरो विश्लेषण प्रस्तुत गरेको थियो।
दोस्रो चरणमा लिलबहादुर क्षेत्रीको चर्चित उपन्यास ‘बसाइँ’ मा आधारित फिल्म प्रदर्शन गरियो । उक्त फिल्मले नेपाली समाजको ऐतिहासिक बसाइँसराइको कथा बोकेको छ, जसले दर्शकमाझ गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ। हिमवत्खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलन तीन दिनसम्म चल्नेछ, जसमा नेपालसहित भारत, चीन, बंगलादेश, म्यानमार, भुटान, र थाइल्यान्डका प्रतिनिधिहरूले भाग लिनेछन्।
कार्यक्रमलाई हिमवत्खण्ड क्षेत्रका भाषा, संस्कृति, सभ्यता तथा परम्परालाई आत्मसात् गर्दै विभिन्न जातजाति र समुदायबीच सांस्कृतिक आदान-प्रदानको अवसर गर्ने उद्देश्यका साथ मदन भण्डारी कला-साहित्य प्रतिष्ठानले आयोजना गरेको हो।