फिल्म । अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ मा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना गरिने भएको छ । केही दिन अगाडि काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै २०८० साउन १ देखि ०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरुले प्रतिस्पर्धा गर्न पाउने प्रावधानसहित अवार्ड आयोजना गर्न लागिएको जानकारी गराइयो ।
अवार्ड आयोजक यज्ञलाल श्रेष्ठले भने,‘म नेपाली कलाकारिता र कलाकारप्रति उच्च सम्मान गर्दछु । केही पहल गर्ने उद्धेश्यले अवार्ड आयोजना गर्न लागेको हुँ ।’ खेलाडी, सफल व्यवसायी हुदै समाजसेवामा पनि उत्तिकै सक्रिय श्रेष्ठले हरेक आर्थिक वर्षभित्र प्रदर्शन भएका नेपाली फिल्महरुलाई समेटेर अवार्ड आयोजना गर्न लागेका हुन् ।
अवार्ड आयोजक टिममा अभिनेता शिव श्रेष्ठ, सुनील थापा, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, कलाकार सुनील कटवाल र पत्रकार,फिल्म निर्देशक लक्ष्मण सुवेदी छन् । पपुलर अवार्डका रुपमा आयोजना गर्न लागिएको अवार्डमा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने बताइएको छ । केही बिशिष्ट योगदानकर्मी कलाकारलाई बिशेष योगदान सम्मान समेत प्रदा नगरिने अवार्डको अफिसियल एमसी नरेश भट्टराई छन् ।












