‘फर्की फर्की’ को बुकिङसँगै टिकेट बिक्री खुल्ला

फिल्म । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली फिल्म ‘फर्की फर्की’ को अनलाइन टिकेट र बुकिङ खुल्ला भएको छ । आउँदो विहिबार बुद्ध जयन्तीबाट प्रदर्शन हुने फिल्मको काठमाडौँसँगै देशभरका मल्टिप्लेक्समा शो सार्वजनिक भएको छ । मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा राम्रो शो दिएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्स र राइजिङ मलमा रहेको क्युएफएक्स, भक्तपुरमा रहेको क्युएफएक्समा, लबिम मल , सिभिल मल, ठमेलमा रहेको छायाँ सेन्टरमा शो खुलेको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्ज, वुटवल, दमौली, नारायणघाट, विराटनगर, विर्तामोड, विरगंज, इटहरीमा समेत फिल्मको शो खुलेको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, गोंगबुमा रहेको बिएसआर मुभिज, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफ, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युब, जमलमा रहेको विश्वज्योति सिनेमाज, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्स, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्स, सितापाइलामा रहेको सिने सिनेमाज, गोंगबुमा रहेको इन्फिनिटी मुभिज, बानेश्वर र कालिमाटीमा रहेको वान सिनेमाज, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मल, बानेश्वर र बुटवलमा रहेको हलमा समेत शो सार्वजनिक गरिएको छ ।

केन्द्रीय चलचित्र जाँच समितिले फिल्म हेरेपछि ‘युनिभर्सल’ सर्टिफिकेट दिएसँगै यसलाई स-परिवारले हेर्न मिल्नेछ । अभिनेता अनमोल केसी, अभिनेत्री जसिता गुरुङ, डेब्यू कलाकारद्वय रवी काफ्ले र समृद्धि अर्याल लगायतका कलाकारमा फिल्म केन्द्रीत छ । उच्च मेकिङ र पछिल्लो समय दर्शकमाझ आएका फिल्महरूभन्दा भिन्न स्वाद फिल्मले पस्केको ट्रेलरमा देखिएको छ । यसमा प्रेम कथासँगै ‘टाइम लुप’ को प्रयोग गरिएको छ । सम्भवतः नेपाली फिल्ममा टाइम लुप पहिलोपटक प्रयोग गरिएको हो । किनकि यस अगाडि यस्ता प्रयोग गरिएको छैन ।

वर्ल्ड फिल्ममा ‘टाइम लुप’ र ‘टाइम ट्राभल’ जस्ता प्रयोग तथा विषय सामान्य मानिन्छ । निर्देशक तथा लेखक सुयोग गुरुङले प्रेम कथानकलाई ‘टाइप लुप’ मा जोड्दा दर्शकले नयाँपन अनुभूति गर्न पाउने बताए । उनले भने, ‘हामीले नयाँ विधालाई ल्याएनौँ भने एकै किसिमको मात्र फिल्म बन्छ । त्यही कारण म र मेरो समूहले नयाँ प्रयोग गर्ने कोसिस गरेका हौँ । टाइम ट्राभल खर्चिलो हुने भएकाले टाइम लुपको प्रयोग फिल्ममा गरिएको छ ।’

‘टाइम ट्राभल’ मा विशेषतः पात्र एक समयबाट अर्को समयमा पुग्ने गर्छ । प्राविधिक दृष्टिले अगाडि वा पछाडिको समय देखाउनु निकै खर्चिलो मानिन्छ । ‘टाइम लुप’ मा भने पात्र एकै समयमा घुमिरहन्छ । एकै दृश्यलाई पात्रको मनोविज्ञानअनुसार चित्रण गर्ने भएकाले त्यसमा खर्चभन्दा धेरै रचनात्मकता चाहिन्छ ।

रोहित अधिकारी फिल्मस्’को प्रस्तुति र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । ओमप्रकाश अग्रवाल निर्माता रहेको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यो फिल्ममा अरुण रिजालको पनि लगानी छ ।

कमेन्ट गर्नुहोस्