साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्दै

फिल्म । चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने भएको छ । शनिवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले यो घोषणा गरे। यसलाई शिशिर खातीले निर्देशन गर्ने र यसअघि ‘रङ्गेली’ बनाएको कम्पनी प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने तय भएको छ । कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन् ।

घोषणा गर्दा यसको थिम पोस्टर पनि सार्वजनिक गरिएको थियो । यसको शीर्षक पनि अडियो नोभेलको नामबाट ‘अधुरो प्रेम’ नै राखिएको छ । साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडी अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो नोभेल ‘अधुरो प्रेम’ हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ ।

साइग्रेसले आफ्नो जीवन कथालाई फोटो प्रस्तुतिमार्फत देखाएका थिए । उनले जीवनको एक कालमा भएको प्रेमबारे आफूले यो अडियो नोभेल तयार पारेको बताए । उनले यो नोभेलमा आधारित रहेर सुजन चापागाईँ र उनको टिमले गीत तयार पार्ने घोषणा समेत गरे । तर सो गीत भने फिल्ममा हुनेछैन।

आफ्नो कथामा फिल्म बन्न लागेकोमा त्यसको जस दर्शकलाई दिँदै साइग्रेसले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिकको रहेको बताए । ‘यो सम्भव भएको पनि तपाईँकै कारणले हो । म केही छु भने यो तपाईँको प्रेमले हो । यो फिल्म बन्नु लाग्नुको कारण पनि तपाईँ नै हो’, उनले भने,‘मलाई शिशिरले भेटेर तपाईँको अधुरो प्रेम साह्रै नै मन पर्छ, म लैजान चाहन्छु भन्नुभयो । मलाई साह्रै नै डर लाग्यो । त्यो मेरो मुटुको सबैभन्दा नजिकको कथा, बरु अर्को दिन्छु नि भनेँ । उहाँले हुँदैन भन्दै मलाई त्यही कथा चाहिन्छ, मलाई जुन काममा चुनौती हुन्छ त्यही गर्न चाहन्छु भन्नुभयो । मलाई अझै पनि डर थियो, मैले पाँच पटकको भेटपछि मात्र कथा दिएँ । अब तपाईँको प्रेमले सफल हुनेछ ।’

पहिलो पटक फिल्म निर्देशन गर्न लागेका शिशिरले आफू साइग्रेसको आवाजको फ्यान मध्ये एक रहेको बताए । ‘मैले लगातार सात-आठ महिना देखी फिल्मको विषयलाई लिएर पिछा गरिरहेको थिएँ । धेरै पटक उहाँलाई भन्ने कोसिस गरेँ, तर सकिन । एक दिन अर्जुन सुवेदीले भेट्दै हुनुहुन्छ भन्ने थाहा पाएर उहाँलाई भेटाइदिन आग्रह गरेँ । भेटपछि मेरो सबै कुरा राखेँ, उहाँले मान्नुभयो । म आज तपाईँसामु जसरी बोलिरहेको छु, २०८२ सालमा फिल्म रिलिज पछि पनि बोल्ने हिम्मत हुने गरी फिल्म बनाउनेछु’, शिशिरले भने । शिशिरले दर्जनौँ म्युजिक भिडियोहरू र फिल्मका गीतमा कोरियोग्राफी गरेका छन् । यसका निर्माण नियन्त्रक मनोज जोशी हुन् ।

कमेन्ट गर्नुहोस्