फिल्म । गत शुक्रबार तिन वर्ष देखि बाँकी रहेको राष्ट्रिय चलचित्र पुरस्कार वितरण भएपछी सबै भन्दा बढी चर्चामा अभिनेता सरोज खनालको तस्वीर आयो । उनले अभिनेत्री करिश्मा मानन्धरको स्टाटसमा कमेन्ट गर्दै आफु कमोड बसेको तस्वीर पोष्ट गरे । उनले पोष्ट गरे लगतै भाइरल भएको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा चलचित्र विकास बोर्डको विरोध भयो । कलाकारलाई सम्मान गर्न नसकेको आरोप बोर्डलाई लाग्यो । त्यसपछि बोर्डले आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै बोर्डले उक्त तश्विर नियोजित रुपमा खिचिएको दाबी गरेको छ । ‘अभिनेता सरोज खनालले राष्ट्रपति भवनको सभा हलसँगैको शौचालयमा बसेर गरिएको फोटोसेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ । शौचालयमै बस्नु पर्ने गरी कुनैपनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ । साथै, कार्यक्रम अवधिभर कुनैपनि कलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ ।’ चलचित्र संग्रहालयका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बोर्डले त्यस्तो अवस्था भए तत्कालै किन जानकारी गराइएन भन्ने प्रतिप्रश्न समेत गरेको छ । ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ को सम्पूर्ण कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको र राष्ट्रपति कार्यालयले कार्यक्रम हल एवम् समय मात्र उपलब्ध गराएका कारण त्यहाँ भएका सबै कार्यको जिम्मेवारी बोर्डको रहेको जारी विज्ञप्तीमा उल्लेख छ । नृत्य अगाडी र सकिनासाथ सम्पूर्ण कलाकारलाई सभा हलमै बसेर कार्यक्रम हेर्ने व्यवस्था मिलाएको स्पष्ट पार्दै बोर्डले सम्पूर्ण सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारहरुलाई कुनै कमी-कमजोरी भए क्षमा माग्ने पनि बताएको छ । बोर्डद्वारा जारि विज्ञाप्तिमा निम्न लिखित बुँदा समावेश छन् ।
१. राष्ट्रपति भवनको सभा हलसँगैको शौचालयमा बसेर गरिएको फोटोसेशन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ ।
२. पुरस्कार समारोहमा सुरुमै १२ मिनेटको नृत्य प्रस्तुति गरिएको र नृत्य प्रस्तुत गर्नुभन्दा आधा घण्टा अघि तयारीका लागि कलाकारहरु मञ्चको विमुख कक्षसँगै विभिन्न स्थानमा बस्ने व्यवस्था मिलाइएको जानकारी गराउँदछौं । शौचालयमै बस्नु पर्ने गरी कुनैपनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ । साथै, कार्यक्रम अवधिभर कुनैपनि कलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ । नृत्य सकिनासाथ सम्पूर्ण कलाकारलाई सभा हलमै बसेर कार्यक्रम हेर्ने व्यवस्था मिलाईएको र उहाँहरुले पनि हलमै बसेर कार्यक्रम हेरेको पनि बोर्ड स्पष्ट पार्दछ ।
३.कार्यक्रम सुरु हुनुअघि र पछि पनि नृत्य प्रस्तुत गर्ने सम्पूर्ण कलाकारहरुलाई कुनै असुविधा नहोस् भनेर बोर्डका अधिकृत तहका ४ जना कर्मचारी सहित १० जना कर्मचारी उहाँहरुको सेवामा रहेको र उहाँहरुलाई सोक्रममा खाजासँगै आवश्यक पिउने पानी समेत उपलब्ध गराएको स्पष्ट पार्दछ । सो क्रममा कर्मचारी पनि कलाकारहरुसँगै प्रतीक्षा कक्षमै थिए । अभिनेता खनालले सो क्रममा आफूलाई असुविधा भयो भनेर तत्क्षण सँगै रहेको बोर्डका कर्मचारीलाई कुनैपनि गुनासो नगरेको बोर्ड स्पष्ट पार्दछ ।
४. राष्ट्रिय चलचित्र पुरस्कारको सम्पूर्ण कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको र राष्ट्रपति कार्यालयबाट कार्यक्रम हल एवम् समय मात्र उपलब्ध गराइएकाले त्यहाँ भएका सबै कार्यको जिम्मेवारी बोर्डको रहेको जानकारी गराउँदछ । तसर्थ, यो विषयसित राष्ट्रपति कार्यालयको कुनै सम्बन्ध नरहेको सम्पूर्ण सञ्चार माध्यमलाई अनुरोध गर्दछ ।
५. सम्पूर्ण सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारहरुलाई कुनै कमी कमजोरी भएको भए बोर्ड क्षमा चाहन्छ । र, आगामी दिनमा पुरस्कार समारोहलाई अझ परिस्कृत गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछ ।