तिन हस्तीको सामूहिक श्रद्धाञ्जली सभा

फिल्म । दिवंगत चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा वरिष्ठ कलाकार केशव भट्टराई लगायत वरिष्ठ कलाकार द्य दीपक क्षेत्री र आनन्द थापालाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डको सभाकक्षमा विशेष श्रद्धाञ्जली सभा गरियो । चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको श्रद्धाञ्जली सभामा दिवंगत तीन जना कलाकारहरुको योगदानको स्मरण गरियो । उपस्थित कलाकार र चलचित्रकर्मीले यी तीनजनाको मृत्युले फिल्म क्षेत्रमा अपुरणीय क्षति भएको बताएका थिए । चलचित्र निर्माता संघ नेपालका अध्यक्ष आकाश अधिकारीले तीन व्यक्तित्वलाई सम्झिदै भने, ‘अहिलेसम्म उहाँ नहाँसेको फोटो देख्न पाइएन । सधै हासी खुसी रहने केशवजी साँच्चिकै सरल हुनुहुन्थ्यो । त्यस्तै दीपकजी र आनन्दजी पनि निकै मेहनती र राम्रो कलाकार हुनुहुन्थ्यो ।’

दिवंगत बोर्ड अध्यक्ष भट्टराइको १३ औ पुण्य तिथीका अवसरमा आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डमा सदस्य सचिव महेन्द्रप्रसाद साँखीले बोर्ड अध्यक्षका रुपमा भट्टराई गरेका कामको स्मरण गर्नु भयो । साँखीले भट्टराईकै पहलमा चलचित्र स्टुडियो निर्माणका लागि बनेपामा २९ रोपनी जग्गा छनौट भएको र त्यसै ठाउँमा स्टुडियो बनाउन सुरु गर्ने काम अन्तिम चरणमा पुगिसकेकोले स्टुडियो निर्माणमा भट्टराईले पु¥याउनु भएको योगदान चलचित्र जगतकालागि अविस्मरणीय हुने बताउनु भयो । भट्टराई कै पहलमा मोफसलका हलहरुमा बक्स अफिस लागु गर्ने अभियान शुरु भएको पनि साँखीले स्मरण गर्नु भयो ।

दिवंगत अध्यक्ष भट्टाराईको सम्झनामा विभिन्न संघ संस्थाहरुका प्रतिनिधीका साथै चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरु शम्भूजीत बाँस्कोटा, कृष्ण मल्ल र राजकुमार राईले पनि आफ्ना भावनाहरु राख्नु भएको थियो । चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र प्रविधिक संघ अध्यक्ष पुस्कर लामा, चलचित्र नृत्य निर्देशक संघका अध्यक्ष राजु शाहलगायतले भट्टराई, क्षेत्री र थापालाई सम्झिए । विकास बोर्ड अध्यक्ष भट्टराईले देखेको सपनालाई साकार गरे उनलाई सबैभन्दा ठुलो श्रद्धाञ्जली हुने उनीहरुको भनाइ थियो ।

पूर्वअध्यक्ष राजकुमार राईले यी तिनै कलाकारको परिवार निकै नाजुक अवस्थामा रहेकाले रोजगारीका लागि पहल गर्नुपर्ने बताए ।चलचित्रकर्मी कल्याणकारी कोषकी बसुन्धरा भुसालले यी तीन व्यक्तित्वको काजक्रिया खर्चको लागि कल्याणकारी कोषबाट सहयोग गरेको बताइन् । उनले भनिन्, ‘उहाँहरुलाई फूल किन्नेदेखि गाडी जलाउनेसम्मको खर्च कल्याणकारी कोषले गरेको छ । उहाँहरुको परिवारलाई केही आर्थिक सहयोग पनि पुर्याएका छौँ ।’ त्यस्तै श्रद्धाञ्जली सभामा निर्देशक तुलसी घिमिरे पनि उपस्थित थिए । उनले पनि यी तीन कलाकारको मृत्युमा दुःख व्यक्त गरे । उनले भने, ‘केशव मेरै फिल्मबाट यस क्षेत्रमा आउनु भएको थियो । आनन्द दाईसँग पनि एक फिल्ममा काम गरेको थिए । दीपकजीसँग काम गर्न पाइन्, तर सुनेको थिए । उहाँहरुलाई गुमाउनु हाम्रो क्षति हो ।’ दिवंगत तीनै जनाको सम्झना गर्दै बोर्ड सदस्य दयाराम दाहलले फिल्मी जगतका विभिन्न संस्थाहरु एकै ठाउँमा शोक सभाको लागि भेला भए जस्तै फिल्म क्षेत्रको विकासकालगि पनि एकजुट हुनुपर्ने धारणा राख्नु भयो । तीन जनाको लागि भनेर राखिएको श्रद्धान्जली शभामा पूराना सर्जक शुक गुरुङलाई पनि श्रद्धाञ्जली दिइएको थियो ।

तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्