फिल्म । अभिनय गर्न सक्ने चकलेटी हिरोको रुपमा आर्यन सिग्देल परिचित छन् । अभिनयका लागि थियटरमा जस्तो अभिनय गर्न सक्ने र गुड लुकिङका लागि चकलेटी अनुहार खोज्ने निर्माता तथा निर्देशकका लागि आर्यन दुवै गुण भएका अभिनेताको रुपमा निर्विकल्प छन् । यद्यपि उमेर बढ्दै गएपछि आर्यन अहिले रोमान्टिक हिरो भन्दा पनि अन्य छविलाई निर्माण गर्न चाहन्छन् ।
उनले अभिनय गरेको पछिल्लो फिल्ममा उनले आफूलाई पात्रमा प्रस्तुत गरिरहेका छन् । जहाँ उनले नयाँ जीवनलाई दर्शकसम्म ल्याएका छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘पुजार सार्की’ मा उनी पुजारको भूमिकामा छन् ।
फिल्मको सार्वजनिक ट्रेलरमा उनले अन्तरजातीय विवाहका लागि गरिरहेको सङ्घर्षलाई देख्न सकिन्छ । शिक्षित युवाले जात हैन भन्ने संदेश प्रवाह गर्नुका साथै रुपान्तरणका लागि उनले प्रयाश गरेका छन् । उनको लुक्स नयाँ देखिएको छ । विसं २०४६ सालको समयको कथा प्रस्तुत गरिएको फिल्ममा उनले निर्वाह गरेको पुजारको आवरण उनकै पिताबाट प्रभावित रहेको निर्देशक दिनेश राउतले बताए ।
‘आर्यनलाई फरक देखाउने तयारी थियो । त्यो समयमा कस्तो देखाउने छलफल हुँदा नै उनको बुवालाई सम्झे । आर्यनले बुवाको तस्बिर पठाएपछि लुक्स ओके गरेका हौँ’, निर्देशक राउतले भने । आर्यनले दिनेशले आफ्नो बुवाको तस्बिर हेरेपछि त्यहिँ लुक्स सुहाउने बताएको स्मरण गरे ।
‘मैले फोटो पठाएपछि त्यहिँ लुक्स ओके भयो । मेरो बुवा कामको शिलशिलामा काठमाडौँ बाहिर हुँदा खिचिएको फोटो हो । मैले छायांकनको समयमा बुवालाई देखाउँदा पनि खुसी हुनुभयो’, आर्यनले भने ।
उनले बुवाले ‘बल्ल ठिक गरिस्’ भनेको स्मरण गर्दै आफ्नो अन्तरजातीय विवाहको कथा फिल्ममा रहेको बताए । फिल्ममा उनले पुजार सुवेदीको भूमिका निर्वाह गरेका छन् । उनले दलित समुदायको केटीसँग विवाह गरेपछि समाजमा हुने सङ्घर्ष नै फिल्मको केन्द्रीय द्वन्द्व हो । यो कास्कीकोटको एक घटनाबाट प्रभावित रहेको बताईएको छ ।
फिल्म ‘पुजार सार्की’ मा आर्यनसँगै प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतले अभिनय गरेका छन् । विकास सुवेदीको लेखन, सुवास भुसालको निर्माण रहेको फिल्ममा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई प्रस्तुत गरिएको छ ।
किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दै छ। डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ।
फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द्र बराल र मुना थटालले स्वर दिएकाछन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।











