संगीत । र्यापर आशिष राना (लाउरे) धरौटीमा रिहा भएका छन् । मंगलबार जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीको इजलासले लागूऔषध मुद्दामा पक्राउ परेका लाहुरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । आफूले नै प्रयोग गर्नका लागि लागूऔषध किन्ने क्रममा कास्की प्रहरीले पोखराको न्युरोडबाट गत पुस १४ मा उनीसहित ४ जनालाई पक्राउ गरेको थियो । उनलाई फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ अनुसार उनलाई धरौटीमा छाडिएको हो । लाहुरेसहित प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
पोखरा महानगर–२१ का ध्रुवबहादुर थापा, रुपा गाउँपालिका–७ का विक्की भन्ने नवीनकुमार गुरुङ र पोखरा–८ की सुस्मिता गुरुङ पक्राउ परेका थिए । उनीहरुलाई फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ अनुसार थुनामा पठाउने आदेश दिईएको छ । र्यापर आशिष राना (लाउरे)ले अनुप बराल, नम्रता श्रेष्ठ र विपिन कार्कीको अभिनय रहेको सिनेमा ‘ताण्डव’मा अभिनय गरेका थिए ।









