फिल्म । नेपाल सरकारले काठमाडौं उपत्यकामा सुविधा सम्पन्न इन्डोर फिल्म स्टुडियो निर्माण गर्ने तयारी गरिरहँदा नीजि क्षेत्रको लगानीमा लमजुङमा निकै ठूलो लागतमा फिल्म सिटी निर्माण हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘स्मार्ट फिल्म सिटी’ बन्ने जानकारी गराइयो ।
बुधबार सूचना तथा सञ्चार मन्त्रालयको सभाकक्षमा नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि. र इटालियन कम्पनी वर्ल्ड एरिया होल्डिङ कम्पनीबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि अनुमानित ५ अर्ब ९० करोड लाग्ने स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।
यसलाई नेपालकै पहिलो, ठूलो र अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटीका भनिएको छ । ‘वर्ल्ड स्काई सिने भिलेन नेपाल’ जुराइएको फिल्म सिटीको चाँडै डिपिआरको काम हुने सम्झौता कार्यक्रममा वर्ल्ड एरियाका प्रमुख फ्रानसिस्को सिग्निरियल्लोले जानकारी दिए । ५ देखि ७ वर्षमा फिल्म सिटीको निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ ।
लमजुङको बेसीसहर नगरपालिकाको वडा नं. ३, ४, ५ र ९ को ५ हजार रोपनीमा फिल्म सिटी निर्माण हुनेछ । उक्त फिल्म सिटी संसारकै सबैभन्दा अग्लो ठाउँको फिल्म सिटी पनि हुने अध्यक्ष अधिकारीले बताए । समुद्रीसतहभन्दा २०६० देखि २९०० मिटरसम्म उचाईमा यो फिल्म सिटी निर्माण हुन लागेको हो ।
लमजुङमा बन्ने फिल्म सिटीमा बलिउड वा हलिउड कुनै पनि फिल्म पूरा गर्न सक्ने गरि निर्माण गरिनेमा दिइयो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले लमजुङमा बन्ने अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी नेपाली फिल्म क्षेत्रका लागि एउटा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । ‘स्मार्ट फिल्म सिटी’ निर्माणमा समस्या आएको खण्डमा नेपाल सरकार सधैं सहयोग गर्न तयार रहेको पनि उनको भनाई छ ।












