‘प्रदीपले विपिन भुलाउने काम गरेका छन्’ : निर्देशक राउत

फिल्म । नेपाली फिल्ममा ‘आइएम सरी’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक दिनेश राउतले प्रेम कथानकलाई प्रस्तुत गर्ने शैलीमार्फत सबैको ध्यान तान्न सफल भए । गीतसङ्गीतको छनौट र प्रेम कथानकको प्रस्तुतीकरणले चर्चामा आएका निर्देशक राउतले त्यसपछि ‘नोभेम्बर रेन’,‘क्लासिक’ जस्ता प्रेम कथामा आधारित फिल्म निर्देशन गरेपछि थ्रीलर फिल्म ‘पर्व’ मार्फत विधा परिवर्तन गरे ।

त्यसपछि ‘प्रसाद’ र ‘प्रकाश’ निर्देशन गरेर सामाजिक विषयलाई पर्दामा ल्याईरहेका छन् । उनले आफ्नो शैली मात्र परिवर्तन गरेनन्, चकलेटी हिरोको ट्याग पाएका कलाकारलाई समेत ‘कम्फर्ट जोन’ भन्दा बाहिर निकाले । प्रदीप खड्कालाई ‘प्रकाश’ मा परिवर्तन गरेका निर्देशक राउतले ‘पूजार सार्की’ मा आर्यन सिग्देल र पल शाहलाई पनि नयाँ रुपमा प्रस्तुत गर्दैछन् ।

चकलेटी हिरोको ट्याग पाएका तीन अभिनेतालाई सामाजिक विषयमा बनेको फिल्ममा गाउँले परिवेशमा उतार्नु आफैँमा चुनौतीपूर्ण छ । निर्देशक राउत भने उनीहरूमा देखिएको क्षमताअनुसार नै कास्ट गरेको बताउछन् ।

‘उनीहरूमा अभिनय क्षमता भएपनि लगातार एकै किसिमको भूमिका अफर गरिएको जस्तो लाग्यो । फेरी एउटा कलाकार भएपछि सबै भूमिका गर्न सक्नुपर्छ । मैले आट गरेपछि उनीहरू तीनले पनि आट गरे’, निर्देशक राउतले भने ।

सार्वजनिक टिजर र दुई गीतमा आर्यनसँगै प्रदीप पनि जबर्जस्त देखिएका छन् । आर्यनले आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गरेपनि प्रदीप भने यस किसिमको भूमिकामा बल्ल ‘नोटिस’ हुँदैछन् । निर्देशक राउत भने प्रदीपलाई दुई फिल्ममा काम गराउँदा ‘प्रसाद’ का विपिन कार्कीलाई भुलेको बताउछन् ।

‘प्रदीपले आफूलाई मैत बहादुरको रुपमा तयार गर्न निकै मेहनत गरेका छन् । आफ्नो सहजता भन्दा बाहिर मात्र गएनन्, जीवन नै बचेका छन् । त्यो जीवन उनले कलाकार भएकाले मात्र महसुश गर्न पाएका हुन् । एउटा स्टारले आफूलाई कलाकार बनाउन गरेको सङ्घर्षले सफलता दिदैछ, मैले उनको काम र मेहनत देखेपछि विपिनलाई समेत विर्से’, निर्देशक राउतले भने ।

उनी प्रदीपको आटले अन्य चकलेटी हिरोलाई फरक विधामा काम गर्न प्रेरणा मिल्नेमा विश्वस्त छन् । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पूजार सार्की’ मा तीन स्टारसँगै अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय पनि रहेको छ ।

प्राय रोमान्टिक जनराको फिल्ममा देखिदै आइरहेका तीनै अभिनेता यसपटक ग्रामिण भेगको पात्रमा देखिएका छन् । निर्देशक दिनेश राउतले यो फिल्मलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । विकास सुवेदीको लेखन रहेको फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पूजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेले साउण्ड डिजाइन, शैलेश श्रेष्ठले ब्याकराउण्ड स्कोर गरिरहेका छन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन रहेको ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ ।

कमेन्ट गर्नुहोस्