‘पूजार सार्की’सँग दलित आयोगको छलफल

फिल्म । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ । यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा चलचित्रको टिमसँग आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै चलचित्रबारे जानकारी लिए ।

चलचित्रको टिमलाई स्वागत गर्न आयोगले विशेष कार्यक्रम नै राखेको थियो । चलचित्रका अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीको कार्यक्रममा उपस्थिति थियो । लेखक सुवेदीले आयोगलाई चलचित्रको कथावस्तुबारे जानकारी दिँदै ‘पूजार सार्की’ आफूले देखेको घटनामा आधारित भएर बनेको उल्लेख गरे ।

कमर्सियल कलाकारहरू र प्रस्तुतिसहित चलचित्रबाट जात भन्ने चीज नै मानवीय दृष्टिमा स्वीकार्य हुँदैन भन्ने कुरा स्थापित गर्न खोजिएको लेखक सुवेदीले स्पष्ट पारेका थिए।

अभिनेत्री अञ्जना बराइलीले आफू पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले बच्चैदेखि विभेद देखेको स्मरण गरिन् । चलचित्रको कथा सुनेपछि काम गर्न उत्साहित भएको बताउँदै उनले चलचित्र गर्ने बेला धेरै कुरा सिक्न पाएको धारणा व्यक्त गरिन् । अभिनेत्री परीक्षालाई भने सुरुमा यस्तो कथामा अझै पनि चलचित्र बनाउन जरुरी छ र ? भन्ने लागेको रहेछ ।

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले ‘पूजार सार्की’ निर्माण भएकोमा खुसी व्यक्त गरे । उनले चलचित्रलाई आयोगले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

दलित आयोगका सदस्यहरू मिना देवी सोव, टुन्जे कामी, मेहले पार्की र सुन्दर पुर्कुटीले पनि चलचित्रले उठाएको विषयको प्रशंसा गर्दै यसले जातीय विभेद अन्त्य गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । दिनेश राउतको निर्देशनमा तयार भएको ‘पूजार सार्की’ आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउदैछ। यस चलचित्रमा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय छ ।

कमेन्ट गर्नुहोस्