दर्शकले रुचाए ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’

फिल्म । गत शुक्रबारबाट प्रदर्शन गरिएको नेपाली फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ लाई दर्शकले रुचाएका छन् । फिल्मको निर्माण शैली, सस्पेन्स र थ्रिलरलाई दर्शकले मन पराएको प्रतिक्रिया दिएका छन् । फिल्म रिलिज भएपछि दर्शक प्रतिक्रिया लिन हलसम्म पुगेका निर्देशक तथा कलाकारसहितको टिमलाई दर्शकले प्रतिक्रिया दिईरहेका छन् । देशभरका १ सय ११ हलमा रिलिजमा आएको फिल्मको शुक्रबार देशभरका हलमा ४५ प्रतिशत र दोस्रो दिन करिब ८५ प्रतिशत अकुपेन्सीसहित फिल्म प्रदर्शन भइरहेको फिल्मका निर्माण पक्षले दावी गरेको छ ।

हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका अभिनेता सौगात मल्ल, नाजिर हुसेन र मलिका महत उत्साहित देखिएका छन् । विशेषत दर्शकले फिल्मले छोडेको प्रश्न ‘गणेश को हो ?’ लाई रिलेट गरेका छन् । यसको जानकारी दोस्रो भागमा दर्शकले पाउने लेखक तथा निर्देशक सौरभ चौधरीले बताए ।

‘दर्शक प्रतिक्रियाले हाम्रो सोच सफल भएको छ । हामीले गर्न खोजेको मेकिङलाई दर्शकले ग्रीन सिग्नल दिनुभएको छ । हामी उहाँको माया र प्रतिक्रियाले उत्साहित छौँ’, निर्देशक चौधरीले भने । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया अर्थात् ‘वर्ड अफ माउथ’ ले दर्शकको चाँप हलमा बढ्नेमा निर्माण पक्ष विश्वस्त छ ।

दुई घन्टा ५० मिनेट लामो यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । यो फिल्म हेरेपछि अधिकांशले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको तारिफ गरे ।

सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ लाई देशभरका हलले सुखद शो उपलब्ध गराएका छन् । सार्वजनिक प्रचार सामग्रीका कारण चर्चामा रहेको फिल्मलाई देशभरका १ सय ११ फिल्म हलले २ सय ५९ शोहरु उपल्बध गराएका छन् ।

फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेल निर्मातामा छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा र भाष्कर स्वाँरको ब्याकग्राउन्ड म्यूजिक तथा एसडी योगीको संगीत छ ।

कमेन्ट गर्नुहोस्