फिल्म । फागुन ११ देखि नेपाली फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनरत छ । फिल्म हेर्ने अधिकाँसले यसको विषयवस्तु र मेकिङ्गको तारिफ गरिरहेका छन् । यसैक्रममा बलिउड अभिनेता अनुपम खेरले पहिलोपटक नेपाली फिल्मको ट्रेलर हेरेर प्रशंसा गरेका छन् । उनले आइतबार इन्स्टाग्राम स्टोरीमा फिल्म ‘गोर्खा वारियर’को पोस्टर सेअर गर्दै ट्रेलर मनपरेको जनाएका हुन् । निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै उनले लेखेका छन्, ‘ट्रेलर मनपर्यो ।’ उनले तालीको इमोजीसहित ह्यासट्यागमा नेपाल उल्लेख गरेका छन् ।
अनुपम खेरले ट्रेलरको प्रशंसा गरेपछि ‘गोर्खा वारियर’लाई लिएर घरेलू दर्शकमा चासो उब्जिएको छ । यसले व्यापारमा पनि सघाउ पुर्याउन सक्ने देखिन्छ । निर्देशक चाम्सले अभिनेता खेरलाई धन्यवाद दिएका छन् । उनले पोस्टलाई रि-पोस्ट गर्दै धन्यवाद दिएका हुन् । गोर्खालीको वीरताको गाथा समेटिएको फिल्मलाई विश्वभर चासोको रुपमा हेरिएको छ ।
‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुन् । फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।
पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा फागुन ११ देखि प्रदर्शन भईरहेको छ । निर्देशक मिलन चाम्सले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।
नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । फिल्मको एसोसिएट वितरकमा रीच इन्टरटेनमेन्ट रहेको छ ।










