फिल्म ।अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने फिल्म ‘पूजार सार्की’को गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा गायक गायिका प्रकाश सपूत र शान्ति श्री परियारले स्वर दिएका छन् । लोक शैलीमा तयार हुँदै गरेको सो गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको सङ्गीत तथा हेमन्त कान्छा रसाइलीको एरेञ्ज रहेको निर्देशक दिनेश राउतले जानकारी दिएका छन् ।
यसमा अन्जना बराइली र परीक्षा लिम्बुले पनि अभिनय गर्दैछन् । दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ आउँदा यसले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ । माघको मध्यबाट छायाङ्कन सुरु हुने यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । सङ्गीतकार सुबास भुसालले निर्माण गर्दैछन् । एक दर्जन फिल्ममा सङ्गीत दिएका भुसालले पहिलो पटक निर्माण गर्न लागेका हुन् ।
भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश थियो । ‘पूजार सार्की‘ किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।












