‘ल्याङ्ग ल्याङ्ग’ मा गुराँस

फिल्म । निर्देशक बलिराम चौहानको निर्देशनमा निर्माण हुने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेत्री गुराँस ढकाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । मुख्य भूमिकामा यो उनको डेब्यु फिल्म हो। यसअघि उनले केही फिल्ममा सहायक भूमिकामा अभिनय गरिसकेकी छन् ।

गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय प्रशिक्षण लिएकी हुन्। त्यहाँ उनले अभिनयका विभिन्न पक्षसँगै अभिव्यक्ति, प्रस्तुति तथा चरित्र निर्माणमा काम गरेकी थिइन्। अभिनय यात्राका क्रममा उनले विभिन्न विज्ञापन तथा म्युजिक भिडियोसँगै हरर फिल्म ‘मम्मी’मा समेत अभिनय गरेकी छन्।

बाल्यकालदेखि नै कलाकारिता र क्यामेराअगाडिको प्रस्तुतिप्रति आकर्षित गुराँसले आफ्नो रुचिलाई करियरमा रूपान्तरण गर्ने उद्देश्यले निरन्तर सिकाइ, प्रशिक्षण र मेहनत गर्दै आएकी छन्। निर्देशक चौहानका अनुसार गुराँस फिल्मकी एक्ली अभिनेत्री हुन्। कथाको पात्रअनुसार उनी उपयुक्त देखिएपछि बुधबार निर्माण टिमले उनलाई फिल्ममा अनुबन्ध गरेको हो।

यसअघि फिल्मको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भइसकेका छन्। निर्माण टिम अझै एक जना अभिनेताको खोजीमा छ। एक अभिनेता फाइनल भएसँगै मुख्य कलाकारको लाइनअप पूरा हुने निर्देशक चौहानले बताए।

स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा प्रस्तुत गर्नेछ। विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक विषयलाई पर्दामा उतार्ने तयारी रहेको निर्देशक चौहानले बताए।

फिल्मको स्लोगन पनि युवाकेन्द्रित ‘हरेक युवाको कथा’ राखिएको छ। नेपाली युवापुस्ताले साथीभाइबीच कुनै विषयमा हुने दबाब वा मानसिक तनावलाई बुझाउन प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई नै फिल्मको शीर्षक बनाइएको निर्माण टिमको भनाइ छ। फिल्मले युवाको चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई कथाको माध्यमबाट प्रस्तुत गर्नेछ।

गुराँस फिल्मको मुख्य भूमिकामा अनुबन्धित भएपछि उनकी आमा रिना ढकालले सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया दिएकी छन्। उनले छोरी सात महिनाकी हुँदा नै आफूले उनलाई नाटकमा अभिनय गराएको स्मरण गर्दै कलाकार बनाउने सपना बोकेको बताएकी छन्।

रिना ढकालले लेखेकी छन्, ‘यो त केवल सुरुवात हो, अझै धेरै टाढा जानु छ, अझै धेरै सपना पूरा गर्न बाँकी छ। आज एउटा ढोका खुलेको छ, अब मेरी छोरीले आफ्नै मेहनत, प्रतिभा र लगनले आफ्नो छुट्टै पहिचान बनाउनेछे। म उसको हरेक सपनाको पछाडि उभिएर, हरेक पाइला–पाइलामा उसको साथ दिनेछु।’

असोजको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्म भोलानाथ कटवालको लगानीमा निर्माण हुनेछ। हाल फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको छ। फिल्मको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्।

कमेन्ट गर्नुहोस्