फिल्म । भारतीय फिल्म ‘डन’ फ्रेन्चाइजको तेस्रो संस्करणमा अब नयाँ जोडी देखिने भएको छ । अमिताभ बच्चन र शाहरुख खानपछि ‘डन’ को भूमिका निभाउन लागेका रणवीर सिंहसँग अब अभिनेत्री कृति सेनन मुख्य भूमिकामा देखिने भएकी छन् ।
लामो समयदेखि चर्चामा रहेको एक्सन थ्रिलर ‘डन ३’ मा प्रारम्भमा अभिनेत्री कियारा आडवाणीलाई मुख्य अभिनेत्रीको रुपमा कास्ट गरिएको थियो । तर हालै गर्भावस्थाका कारण कियाराले फिल्मबाट बाहिरिनुपरेको छ । त्यसपछि मुख्य अभिनेत्रीको खोजीमा रहेका निर्माण पक्षले अब कृति सेननलाई फिल्ममा ल्याउने निर्णय गरेका छन् ।
भारतीय मिडियाका अनुसार, कृति सेननले ‘डन ३’ साइन गर्न राजी भइसकेकी छन् । उनी ‘रोमा’ पात्रको भूमिकामा देखिने छिन्, जुन पहिलेका श्रृंखलामा विशेष महत्वको पात्र रहँदै आएको छ । फरहान अख्तर निर्देशित र एक्सेल इन्टरटेनमेन्टद्वारा निर्माण हुने फिल्मको स्क्रिप्ट तयार भइसकेको छ र छिट्टै प्रि-प्रोडक्सनको काम सुरु हुने जनाइएको छ । अधिकांश सुटिङ युरोपमा गरिनेछ भने फिल्म यो वर्षको अक्टोबर वा नोभेम्बरबाट फ्लोरमा जान सक्ने अनुमान गरिएको छ ।











