फिल्म । आउँदो पुस २७ गते प्रदर्शन हुने फिल्म ‘पर्खी बसेँ तिमीलाई’ को अग्रिम बुकिङ खुलेको छ । मंगलवार नै काठमाडौ उपत्यकामा रहेको दुई मल्टिप्लेक्स एफक्युब र बिएसआरले बुकिङ खुल्ला गरेर टिकेट विक्री सुरु गरेको छ । फिल्मको वितरण कम्पनि रीच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठ शो खुल्न सुरु भएको र बुधवार बेलुकीसम्म सबै शो खुल्ने जानकारी दिए ।
‘शो खुल्ने क्रममै छ । सुरुआत राम्रो भएको छ । अहिलेलाई एफक्युब र बिएसआरमा टिकट खरिद गर्न सक्नु हुनेछ’, वितरक श्रेष्ठले भने,‘प्रेम कथानक फिल्म केही समयको अन्तरालमा आएको हुँदा यसलाई सपरिवार हेर्न सकिनेछ । निर्देशक दीपक श्रेष्ठका अनुसार फिल्मको कथा युवापुस्ताको प्रेममा केन्द्रीत छ ।
निर्देशक श्रेष्ठले यो पर्खिरहेको व्यक्तिको कथा रहेको बताए । ‘हामीले एउटा सुन्दर कथा लिएर आएका छौँ । यसले सबै वर्गको दर्शकलाई आकर्षित गर्छ भन्नेमा विश्वस्त छौँ’, निर्देशक श्रेष्ठले भने ।
निर्देशक दीपक श्रेष्ठले ‘पर्खी बसें’ झैँ यसपटक पनि नयाँ अनुहारलाई डेब्यु गराएको जानकारी दिए । ‘यो त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म हो । पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई फिल्म उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भने ।
उनेल २६ औँ फिल्मको रुपमा ‘पर्खी बसें तिमीलाई’ मार्फत डेब्यु गर्ने कलाकारको भविष्य उज्वल रहेको बताए । फिल्ममा आकाश (किरण श्रेष्ठ) र आभा (रक्षा बुढाथोकी) को भेट, बढ्ने सामिप्यता, प्रेम र विछोडलाई देखाईएको छ । आकाशले पठाओ चालकको भूमिका निर्वाह गरेका छन् भने आभा सम्पन्न परिवारको छोरीको भूमिकामा छिन् । निर्देशक श्रेष्ठले नयाँ भएता पनि काममा भने उनीहरु परिपक्क रहेको बताए ।
यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।
रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।













