काम देखाउन नपाएका प्रमोद

फिल्म । आफूले प्राप्त गरेको पात्र बाच्ने अभिनेता हुन्, प्रमोद अग्रहरी । प्रतिभाशाली भइकन पनि अभिनेताका रुपमा उनको उचित परिक्षण भएको पाइदैन । भारतको दिल्लीमा नाट्यकला सिकेका प्रमोदले सन् २०१२ यता आफ्नो काम देखाइसकेका छन् । यद्यपि उनी आफै त्यसलाई आफूले काम गरेको वा देखाएको भन्न चाहँदैनन् ।

‘मैले त अहिलेसम्म कामै पाएको छैन, कामै गराइएको छैन जस्तो लाग्छ । कनेक्सन स्थापित गर्न नसकेर भनेजत्ति र भनेजस्तो काम नपाइरहेको होकी भन्ने लाग्छ’, प्रमोदले भने,’काम देखाउनु छ, त्यसैले केही तयारी गरिरहेको छु ।’

उनले प्रदर्शनको क्रममा रहेको फिल्म ‘चित्रा’ मा कान्छा दाइको भूमिका निर्वाह गरेका छन् । समय र परिस्थितिले गर्दा एउटा मान्छे कसरी समाजप्रति नकारात्मक हुन जान्छ र कुनै पात्रप्रति कसरी विद्रोह गर्ने व्यक्तिलाई उनले प्रस्तुत गरेका छन् । उनले उक्त भूमिकालाई निर्वाह गर्न भने त्यति सरो मेहनत गरेका छैनन् । ‘त्यही लुक्सहरुमा अलि काम गर्नुपर्यो, त्यसपछि बोलीमा अनि पात्रको हाउभाउमा हो । त्यो बाहेक फरक मेहनत छैन’, उनले भने ।

उनले अभिनेताको रुपमा आफूलाई प्रमाणित गर्ने काम अहिलेसम्म नपाएको बताउछन् । ‘समाजमा देखिएको पात्र र घटेका घटनाहरुका पात्रमा काम गर्न, बाँच्न मन छ । जसरी फिल्महरु आइरहेका छन् त्यो हेर्दा मलाई किन कास्ट गरिदैन भनेर मनमा प्रश्नहरु आइरहेको हुन्छ । कतिपयले भन्नुपनि हुन्छ, किन तिमीलाई यो पात्र भनिएन, तिमीले किन गरेनौं, तिमीसँग यी पात्रहरु किन आइपुगेनन् भनेर भनिराखेको हुनुहुन्छ । यसबारेमा के हो मलाई पनि थाहा छैन् । यसका लागि बेग्लै खाले कनेक्सन चाहिने हो या मै कनेक्सनहरुबाट टाढा हो की ?’, प्रमोदले प्रश्न गरे ।

कमेन्ट गर्नुहोस्