फिल्म । सर्लाही जिल्लामा नेकपा (माओवादी केन्द्र) का नेता भनेर चिनिने मेयर भारतकुमार थापाको राजनीतिबाट प्रभावित हुने फिल्म ‘मेयर’ मा शिर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने देखिने भएका छन् । सर्लाही जिल्लाको पूर्वपश्चिम लोकमार्गसँग जोडिएको बागमती नगरपालिकाका मेयर थापा आफ्ना शक्ति र क्षमताका कारण चर्चामा छन् ।
विसं २०६५ सालमा स्ववियु राजनीतिमार्फत उदाएका थापाले त्यसपछि संविधानसभाको दोस्रो निर्वाचनमा समेत भाग लिए । यद्यपि उनले सफलता हात पार्न सकेनन् । तर, विसं २०७४ मा स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमार्फत उनले राजनीतिक सफलता प्राप्त गरे । उनको यो दोस्रो कार्यकाल हो । निर्देशक दीपेन्द्र कुमार खनालका अनुसार माघमा छायांकन गर्ने तयारी छ ।
यसको छायांकन सर्लाही जिल्लामै गरिनेछ भने फिल्म मेयर थापाको जीवनी नभई प्रभावित मात्र हुने बताईएको छ । मेयर थापाको जीवनी भन्दा विवादित हुन् सक्ने भएकाले पनि यसलाई प्रभावित भएर मात्र तयार गर्ने तयारमा निर्देशक खनाल छन् । किनकि स्थानीय तहको उनको सकारात्मक चर्चा मात्र छैन ।
‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’ पश्चात यसमा खगेन्द्रसँग दीपेन्द्रले सहकार्य गर्दैछन् । फिल्मलाई सागर मैनालीसँगै मेयर थापाले नै निर्माण गर्दैछन् । यद्यपि निर्मातामा उनको छोरी अर्विसा थापाको नाम राखिएको छ । मेयर थापा फिल्ममार्फत आफ्नो छविलाई निर्विवादित देखाउन तत्पर रहेको स्थानीयले चर्चा गर्न थालेका छन् ।










