माघ २६ मा ‘दयारानी’

फिल्म । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘दयारानी’ आउँदो माघ २६ मा प्रदर्शन हुने भएको छ । रिलिज डेट घोषणासँगै सार्वजनिक गरिएको फस्टलुकमा दयासँगै दीया देखिएकी छिन । ‘वीरविक्रम’, ‘ह्याप्पी डेज’ र ‘मिस्टर झोले’ लगायतका चलचित्रमा सँगै काम गरेका दया र दीया यस फिल्ममा श्रीमान र श्रीमतीको भूमिकामा छन् । पोस्टरमा दया रोमान्टिक देखिएका छन् भने दीया लजालु र दयालु देखिएकी छिन् ।

फिल्मलाई अभिनेता माओत्से गुरुङले निर्देशन गरेका छन् । उनको यो डेब्यु निर्देशन हो । ‘फिल्म पारिवारिक कथामै छ’, निर्देशक गुरुङ भन्छन् ‘यसमा उताउलो श्रीमान र दयालु श्रीमतीको कथा देखाएका छौं ।’ उनले फिल्मको नामलाई प्रस्ट्याउदै भने, ‘गुरुङ समुदायमा दयालु युवतीलाई दयारानी भनिन्छ ।’ गुरुङ भाषाको फिल्म निर्देशन गर्दै आएका कलाकार माओत्सेले यो फिल्मबाट मूलधारे फिल्ममा पाइला राख्न लागेका हुन् ।

सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक स्वयम्ले लेखेका छन् । फिल्ममा दया र दीयासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् भने यसमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ । साथै, यसमा निर्देशकद्वय रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् ।

कमेन्ट गर्नुहोस्