फिल्म । अन्ततः अभिनेता मदनकृष्ण श्रेष्ठ कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टी भएसंगै दुई पटक अस्पताल भर्ना भएका मदनकृष्ण एक साताअघि घर फर्किएका थिए । घर फर्किएको एक सातापछि उनले मंगलबार ‘कृतज्ञता ज्ञापन’ फेसबुक मार्फत गरेका छन् । अहिले आफूमा थोरै शिथिलता कायम रहेको र त्यो पनि विस्तारै बिस्तारै कम हुदै गएको उनको भनाई छ । मदनकृष्ण पहिलो पटक ८ दिन र दोश्रो पटक १४ दिन मेडिसिटी अस्पतालमा उपचार गराएर घर फर्किएका हुन् ।
‘मलाई माया, शुभेक्षा र आर्शिवाद वर्षाउँदै, मेरो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा दर्शक–श्रोता, नर्श, डाक्टर अनी पृथ्वीभरिका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु’ मदनकृष्णले हाँस्य शैलीमा भनेका छन्, ‘यहाँहरुको आशिर्वाद लाग्यो मलाई । यहाँहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी विषलाई मज्जाले पचाईयो ।’
आफ्नो पीसीआर नेगेटिभ आएपछि मात्र सबैलाई सुनाउने भनेर उनी केही नलेखी बसिरहेका थिए । तर, सोमबार गरिएको पीसीआर परीक्षणमा घरका सबै सदस्यको नेगेटिभ देखिएपनि आफ्नो अझै पोजिटिभ नै देखिएको उनले बताएका छन् । तर, डाक्टरका अनुसार आफ्नो शरीरका भाइरसहरु सबै मरिसकेकोले त्यसले केही असर नगर्ने मदनकृष्णले जनाएका छन् ।










