‘महासमिति बैठकको प्रतीक्षामा छौँ’ : महामन्त्री थापा

देश । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो निर्वाचनमा आफ्नो दल एक्लै निर्वाचनमा जाने बताए । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाद्वारा दसैँ, तिहार, नेपाल संवत र छठ पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले निर्वाचन अगाडि कुनै पनि शर्तमा गठबन्धन नहुने प्रष्ट पारे ।

‘हाम्रो अधिकाँस कुराहरुको निर्धारण आउँदो काङ्ग्रेसको महासमितिको वैठकले गर्छ । निर्वाचन अगाडि हुने गठबन्धन लोकतान्त्रिक होइन, यो सैद्धान्तिक हिसाबले गलत छ । यद्यपि निर्वाचन पछाडि भने सरकार निर्माणका लागि सहकार्य गर्न सकिन्छ’, महामन्त्री थापाले भने,‘आउँदो निर्वाचनमा यदि कसैले काङ्ग्रेस गठबन्धन गरेर निर्वाचनमा जान्छ भन्यो भने पार्टी एक रहने कुराको कल्पना नगरे हुन्छ । किनकि हामी एकलै लड्छौ र जवाफदेहिता पनि लिन्छौं ।’

उनले शिर्ष दलका नेताहरूले अपारदर्शी र अपवित्र किसिमले बन्द कोठामा गर्ने कुराकानीलाई गठबन्धनको वैठकका रुपमा व्याख्या नगर्न सञ्चारकर्मीलाई आग्रह समेत गरे । उनले भने,‘गठबन्धनको वैठकको नियम, विधी हुँदैन ? जहाँ जसले आफ्नो मनोमानी किसिमले गरेको कुराकानीलाई वैठक भन्न पाइदैन । त्यहाँ पार्टीको सहभागिता हुनु पर्छ । यी यस्तै धेरै प्रश्न हाम्रो सभापतिजीसँग छ, अन्य नेतासँग पनि छ ।’

उनले सञ्चारकर्मीले पछिल्लो समय भोग्नु परिरहेको समस्याको विषमा दसैँ सकिए लगतै छलफल गर्ने बताए । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सञ्चारकर्मीको समस्यालाई नेपाली काङ्ग्रेसले सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए । काठमाडौँ जिल्ला अध्यक्ष महेश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नानु बास्तोला, प्रतिमा गौतम, नेका नेता भुपेन्द्रजंग शाही, युनियनका नेता सरोज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्