फिल्म । बेलायतस्थित लन्डनको लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएको नेपाली चलचित्र ‘गोर्खा वारियर’लाई हेरेका गोर्खालीले पहिलो ‘नेपाली मेगा मुभी’ को उपाधि दिएका छन् । वास्तविक युद्धलाई प्रस्तुत गरिएको चलचित्रलाई आइम्याक्स सिनेवर्ल्डमा सातसात पचास दर्शकले हेरेका थिए । नेपाली चलचित्रको इतिहासमा पहिलोपटक भएको भव्य ‘हलिउड प्रिमियर’ मा सुमन राई निर्मित चलचित्र हेर्न लर्ड माइकल हवार्ड (मेम्बर अफ पार्लियामेन्ट), आर्मीका लेफ्टिनेन्ट जनरल, व्रिगेडियर जनरलसँगै सशस्त्र प्रहरी बलको पूर्व महानिरीक्षक शैलेन्द्र खनाल लगायतका विशिष्ट अतिथि सहभागी थिए । चलचित्र टिमबाट निर्देशक मिलन चाम्स, कलाकारद्वय रितेश चाम्स र रेविका गुरुङ, छायाँकार सुदीप बराल, सम्पादक मिलन श्रेष्ठ लगायतलाई चलचित्र हेरेपछि दर्शकले बधाई दिएका थिए ।
चलचित्र हेरेपछि गोर्खालीको वीरतासँगै नेपाली चलचित्रको निर्माण शैलीको तारिफ गरेका थिए । सिनेवर्ल्डमा पहिलोपटक नेपाली चलचित्रको प्रिमियर गर्दै इतिहास रच्न सफल भएको ‘गोर्खा वारियर’ मा युद्धको परिस्थितिलाई दुरुस्तै देखाईएको भन्दै व्रिटिस आर्मीमा कार्यरत तथा अवकाशप्राप्त सैनिकले तारिफ गरेका थिए । उनीहरु गोर्खालीको वीरताको कथालाई पर्दामा हेरेपछि दर्शक बनेका गोर्खाली भावुक भए ।

हलिउड र बलिउडका ठूला स्टारको चलचित्र प्रिमियर हुने सिनेवर्ल्डमा नेपाली चलचित्रको पहिलोपटक प्रिमियर भएपछि यसको चर्चा लन्डनसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भईरहेको छ । ‘मैले २० वर्ष अघि देखेको यो सपना ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाली चलचित्रको बजार विस्तारलाई यस्ता इभेन्ट सघाउनेमा विश्वस्त छु’, निर्देशक मिलनले भने,‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु । यो प्रिमियरले कालान्तरमा सम्पूर्ण नेपाली चलचित्रलाई टेवा पुर्याउने छ ।’
प्रिमियरमा हलिउडबाट मिसन इम्पोसिवलका निर्माता टोमी ग्रोम्ली, हलिउडका पाइनउड स्टूडियोका प्रमुख एन्डरु स्मिथ, अपरेशन म्यानेजर म्याट हाटकिन सहभागी थिए । उनीहरुले नेपाली चलचित्रको मेकिङ प्रशंसा गरेका थिए । ‘हाम्रो कथालाई हेर्ने उत्साह र हेरेपछि पाएको प्रतिक्रियाले हौसला मिलेको छ । मैले चलचित्रको निर्माणका क्रममा खर्चिएको एक दशकको समयको प्रतिफलले मलाई आगामी कार्यदिशा तय गर्न मदत गरेको छ’,निर्देशक मिलनले भने ।

युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् ।

