नेताहरूलाई स्वस्तिमाको आग्रह

फिल्म । कृषा चौलागाई निर्देशित सिनेमा ‘ऐंचो पैंचो’ टिम सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त छ । सिनेमाको प्रदर्शन मिति जति नजिकिँदै छ त्यति नै निर्माण पक्षले प्रचारलाई तिव्रता दिएको छ । टिकटकदेखि मिडिया अन्तर्वार्तासम्ममा यसका कलाकार र निर्देशकलाई भ्याइनभ्याइ छ ।

कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला तथा निर्देशक चौलागाईं यतिबेला मिडिया अन्तर्वार्तामा व्यस्त छन् । टेलिभिजन, रेडियो, अनलाइनदेखि युट्युब च्यानलमा अन्तर्वार्ता दिइरहेका छन् । कलाकार आफ्ना अन्य सबै काम छोडेर प्रचारमा जुटेका हुन् ।

स्वस्तिमाले राजनीतिमा आवद्ध व्यक्तिहरूलाई पनि सिनेमा हेर्न आग्रह गरेकी छन् । सिनेमाको प्रिमियर तथा कार्यक्रमहरूमा नेताहरूलाई आफूले देख्ने गरेको भन्दै उनले हलमा गएर पनि सिनेमा हेर्न आग्रह गरेकी हुन् ।

सिनेमा समाजको रिफरलेक्सन पनि भएको भन्दै उनले भनेकी छन्,‘कतिपय सन्दर्भमा उहाँहरूले समाजमा नदेख्नु भएको कुरा हामीले हाम्रो क्यामेराबाट देखाइरहेको हुन सक्छौँ । त्यसैले ऐंचो पैंचो हेर्न म उहाँहरुलाई आग्रह गर्छु ।’

अनावश्यक गसिप र कन्ट्रोभर्सी गरेर आफू सिनेमा चलाउने पक्षमा नरहेको भन्दै उनले ‘ऐंचो पैंचो’ राम्रो बनेको बताएकी छन् । ‘ऐंचो पैंचो’बाट अफर आएपछि आफूले सुरुमा निर्देशकसँग विचार र भिजन मिल्छ कि मिल्दैन भनेर केही दिन वर्कसपमा बसेपछि मात्रै सिनेमा साइन गरेको स्वस्तिमाले जानकारी दिएकी छन् ।

भदौ १४ गतेबाट प्रदर्शन हुने सिनेमा सेन्सर पास पनि भइसकेको छ । सिनेमालाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । सबै उमेर समूहका दर्शकले सिनेमा हेर्न पाउने छन् ।

सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । सिनेमाको एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ ।

सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपीन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माता रहेका छन् ।

कमेन्ट गर्नुहोस्