नेपालमा लोकार्पण गरियो ‘थाइल्यान्डमा नेपालीहरुको इतिहास’

देश । आज काठमाडौँमा थाइ नेपाली संघद्वारा आयोजित थाइल्यान्डका नेपाली आप्रवासीहरुको कथा समेटिएको पुस्तक ‘थाइल्याण्डमा नेपालीहरुको इतिहास’ लोकार्पण गरिएको छ । कार्यक्रममा उपस्थित संस्कृतिविद डा. जगमान गुरुङले प्रवासमा नेपालीले कला र संस्कृतिलाई बढी महत्व दिएको बताउदै हौसला दिन उपस्थित भएको बताए । उनले भने,’हामीले तपाइँहरूबाट सिक्ने बेला आएको छ । यहाँ ठेट नेपाली बोल्दा वा संस्कृति मनाउँदा समाजमा फिट नहुने अवस्था समेत छ ।’ उनले पुस्तक विमोचनमा नेपाल आइपुगेका आप्रवासी नेपालीलाई ऐतिहासिक स्थल हेर्न र घुम्न सुझाव समेत दिए । कार्यक्रममा संघकी अध्यक्ष वासाना राईले नेपालमा आएर पुस्तक नेपाली र अंग्रेजी भाषासँगै तस्बिर कथामा लोकार्पण गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिईन् । पुस्तकका लेखक तथा अनुसन्धानकर्ता रमेश खड्काले असी वर्षको पुरानो इतिहासलाई पुस्तकमा समेट्न पाउँदा गौरव महसुश गरेको बताए । उनले भने,’थाइल्याण्डमा नेपाली आप्रवासीको मौखिक इतिहासमा सीमित कुरालाई लिखित दस्तावेजको रुपमा बाहिर ल्याएइएको छ । यसक्रममा मैले संगालेको अनुभव जीवनकै उपलब्धिमुलक छ ।’

कार्यक्रममा पूर्वराजदूतहरू डा. दिनेश भट्टराई, डा. खगनाथ अधिकारी, संघका पूर्व अध्यक्ष कुमार कार्की, गायक दीप श्रेष्ठ र आनन्द कार्की, गायिका इन्दिरा जोशी, अभिनेत्री मिथिला शर्मा र दीपाश्री निरौला, अभिनेता किरण केसी, निर्मल शर्मा, जीतु नेपाल लगायत उपस्थित हुनुहुन्थ्यो । कायक्रममा संस्कृति झल्काउने नृत्यसँगै नेपालीले थाइल्याण्डको पिलोक भन्ने स्थानबाट सुरू गरेको जीवनीलाई श्रव्यदृश्यमार्फत प्रस्तुत गरिएको थियो ।

पुस्तकले नेपालीहरुको आप्रवासन र थाइल्याण्डमा नेपालीहरुको इतिहासबारे लुकेका तथ्यहरु बाहिर ल्याएको छ । बर्मासँग सीमा जोडिएको थाइल्याण्डको पिलोक भन्ने ठाउँमा माईनको काम गरेर सुरु भएको नेपालीहरुको थाइल्याण्ड आप्रवासनको कथालाई पुस्तकले समेटेको छ ।

कमेन्ट गर्नुहोस्