देश । लोक गायिका देविका केसी (देवकी खत्री)ले गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि आइसिसी महिला संयोजक पदमा उम्मेद्वारी दिने भएकी छिन् । हाल क्यानडा निवासी गायिका केसीले ‘महिला सशक्तिकरण, सबैलाई जोड्ने एनआरएनए’ भन्ने नारा सहित आफो उम्मेदवारी अगाडी सारेकी छिन् ।
आउँदो अक्टोबर १७ तारिखमा हुने संघको ११ औं महाधिवेशनमा क्यानडाबाट प्रतिनिधित्व गर्दै गायिका केसीले दुई वर्षे कार्यकालका लागि एनआरएनए भित्र महिला सशक्तिकरणको आवाज अझै बुलन्द पार्न महिला संयोजक पदमा उम्मेद्वारी दिन लागेको जानकारी दिईन् ।
एनआरएनए एनसिसी कतारको उपाध्यक्षपछि हाल क्यानडालाई कर्मथलो बनाएकी गायिका केसीले प्रवासमा रहेर लोक गीतसंगीतको माध्यमबाट नेपाली कला संस्कृतिको प्रवर्द्धनमा उल्लेखनीय टेवा पुर्याएकी छिन् । एनआरएनएले संचालन गरेका विभिन्न परियोजनाहरुमा सक्रिय सहभागी भएर काम गर्दै उनले नेपाली समुदायले गर्ने हरेक कार्यमा हातेमालो गर्ने गरेकी छिन् ।
गायिकासँगै समाजसेवीका रुपमा परिचित गायियका केसीले कलाकर्मीहरुलाई सहयोग जुटाउने, महिला, बालबालिका, असक्त बिरामीहरुलाई सहयोग गर्ने गरेकी छिन् । ‘विदेशमा रहेता पनि म महिला दिदीबहिनीहरुका सुख दुःखसँग परिचित छु । एनआरएन अभियानलाई नजिकबाट बुझेकोले महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छु’, उनले भनिन् ।