समीक्षा : जारी

फोटो : सुशील तामाङ

फिल्म। प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ। कवि उपेन्द्र सुब्बाले पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशक बन्नुभएको छ।। लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पति–पत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोह–अवरोहलाई प्रस्तुत गरिएको छ। पती नाम्साङ (दयाहाङ राई) र पत्नी हाङ्मा (मिरुना मगर) मै केन्द्रीत छ।

विक्रम संवत २०५२ सालको परिवेशमा तयार पारिएको चलचित्र तात्कालिन समयको संस्कृति, भाषा र पहिरनको दस्तावेज बनेको छ । चलचित्र नाम्साङ र हाङ्माको झगडाको दृश्यबाट सुरू हुन्छ। बिहेको पाँच वर्ष वितिसक्दा निःसन्तान दम्पती हुनु नै उनीहरू बीच हुने कलहको कारण हो। सन्तान नहुनुको कारक आफू बन्नु परेपछि हाङ्मा खुशी छैनन्। त्यहिँ शिलशिलामा आफ्नो श्रीमानलाई एकपटक ‘नामर्द’ भनेपछि झगडा उत्कर्षमा पुग्छ। हाङ्माले युप्पारुङ फालेर घर छोडेर माइत जान्छिन् । नाम्साङले हाङ््मालाई फर्काउन छरितोपन देखाउदैनन्। त्यहिक्रममा पालममा जितेर अर्कैले हाङ््मालाई पत्नी बनाउँछ ।

हाङ्मा परिवारले जारी तिर्न नसकेपछि पूर्वपतिको घरमा गोठाला बन्न पुग्छिन् । पुर्वपत्नीलाई जारी तिर्न ल्याएपछि नाम्साङलाई प्रश्नसमेत तेर्सिन्छ। बेहुली बनेर स–सम्मान भित्रिएको घरमा हाङ्मा पस्न पाउदिनन्। उनी गोठमै बस्छिन् र आफ्नो काम गर्छिन्। त्यहिँक्रममा नाम्साङलाई अर्को विवाहका लागि उनका बुवा सुब्बाले कर गर्छन्। केटी खोज्न केही गाउँमा नाम्साङसँगै उनका साथीहरू पनि पुग्छन्। तर श्रीमती छाडेको भनेपछि सहज हुँदैन। पालम गाउँन नआउने नाम्साङले मेलाबाट पनि जोडी पाउदैनन्। त्यस दौरान नाम्साङको आमा विरामी हुन्छिन्। उनको स्याहारसँगै घरेलु काममा व्यस्त हाङ्मालाई आफ्नै घर फर्काउने प्रयाश उनका भाईले गरिरहेका हुन्छन्।

तर जारी तिर्ने रकम नहुँदा त्यो सम्भव हुदैन। नाम्साङको आमाको देहान्त भएपछि एक वर्षलाई शुभकार्य रोकिन्छ। त्यसपछि बुढा सुब्बा र नाम्साङको सहारा बन्छिन् हाङ्मा। के नाम्साङले दोस्रो विवाह गर्छन् ? जारी तिरेर हाङ्मा आफ्नै घर फर्किन्छिन् ? हाङ्मालाई पालममा जितेका श्रीमानले के गर्छन् ? यी यस्तै जिज्ञासा मेट्न चलचित्र भवन नै पुग्नुपर्छ। यसको मिठो जवाफ निर्देशक सुब्बाले चलचित्रमा दिनुभएको छ ।व्यावसायिक बनाउन अनावश्यक मसलाको प्रयोग गरिएको छैन। अर्थात् विशुद्ध अर्गानिक छ ‘जारी’ । कथामा मौलिकता छ।

चलचित्रको पहिलो दृश्यमै पटकथाकारसमेत रहेका निर्देशक सुब्बाले द्वन्द्व स्थापित गर्न सफल हुनुभएको छ। त्यसलाई अगाडी बढाउँन उहाँले फाल्तु दृश्यलाई जोड्नु भएको छैन। कथा सुरुदेखि नै द्रुत गतिमा अगाडि बढेको छ । नाम्साङ खराब होइनन् तर उनको रिस सही छैन। हाङ््मा पनि उस्तै छिन्। निर्देशक सुब्बाले दुई बीचको अव्यक्त प्रेमलाई दृश्यमार्फत स्थापित गर्न सफल हुनुभएको छ ।

पहिलो दृश्यपछि दुवै बोल्दैनन्। तर उनीहरू बीचको प्रेमलाई दर्शकले पर्दा बाहिर पनि महसुश गर्छन्। उनीहरूको अनुहारमा झल्किने प्रेम लुक्दैन्। तर व्यक्त पनि हुदैन। उनीहरू बीच संवाद कसरी होला ? भन्ने दर्शकको जिज्ञासा सरल रूपमै निर्देशकले मेटाएका छन्। यो उनको सरलतासँगै दृश्य भाषाको ज्ञानको कारण सम्भव भएको हो। यस्ता थुप्रै दृश्यहरु छन्, ती दृश्यले सोझै दर्शकसँग संवाद गर्छन् ।

पर्दामा देखिने पात्रको सुख र दुःखसँगै दर्शकलाई यात्रा गराउन सक्नु नै निर्देशकीय सशक्ता हो। निर्देशक सुब्बाले लेख्नको क्रममा ठूला संवादको प्रयोग नगरेर नै लिम्बू लबज र मिठास भर्न सफल हुनुभएको छ । चलचित्र हेरिरहदा देखिने दृश्य र प्रयोग हुने ध्वनिले आनन्द दिन्छ। गीतले कथालाई अगाडी बढाउँछ। त्यो मनोरञ्जनको लागि मात्र रखिएको छैन। कथालाई लयमा बगाउन झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत तारिफ गर्न लायक छ ।

कलाकारको अभिनय यो फिल्मको अर्को अब्बल पक्ष हो । अभिनेता राईले नाम्साङ पात्रलाई जीवन्त बनाउनु भएको छ। पहिलो दृश्यमा उहाँले देखिएको रिस धेरै समयसम्म कायम रहन्छ। यस्तै अभिनेत्री मगर चलचित्रमा शालीन देखिनु भएको छ । हाङ्माले प्रतिकार नगरेर नैे सहनशीलतामार्फत दर्शकको मन चसक्क बनाउन सफल हुनुभएको छ। अभिनेता विजय बरालले मंगल सिंहको पात्रमार्फत बाहुन र लिम्बू दम्पतीबाट जन्मिएको सन्तानको सामाजिक परिवेश झल्काउन सफल हुनुभएको छ। काव्यिक चलचित्रको संज्ञा पाएको ‘जारी’ मा जनजाति महिलाको विद्रोहको फरक आयाम पस्कने प्रयास गरिएको छ।

नेपाल जातजाति, भाषा, संस्कार–संस्कृति र सामाजिक परिवेशको लागि धनि छ भन्ने यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको छ। निर्देशक सुब्बाले लिम्बू जातिको संस्कार–संस्कृतिलाई समयसँगै सकुशल वर्तमान युगमा अवतरण गराउन सफल हुनुभएको छ । यद्यपी कमीकमजोरी नै नभएको चलचित्र भने होइन्। विविध कमजोरीका बावजुद यो राम्रो पक्ष धेरै भएको चलचित्र हो। विशेषत पहिलो हाफमा यसलाई छोट्याउने ठाउँ छ। तर निर्देशक सुब्बाले त्यसमा जाँगर चलाउनु भएको छैन । कथामा नाम्साङ र हाङ्माको परिवारलाई देखाउँदा उनीहरूसँगै जोडिने समाज र समयकाललाई दृश्यमार्फत स्थापित गर्न निर्देशक सुब्बा चुक्नु भएको छ।

यद्यपी यो चलचित्रले कलात्मक र व्यवसायिक दुवै मनपराउने दर्शकलाई चलचित्रभवनसम्म ल्याउने ल्याकत देखाईसकेको छ। मसालेदार र कलात्मक भनेर विभाजित हुने दर्शक चलचित्र हेर्नसँगै देखिएका छन्। यो निर्माता, निर्देशक र कलाकारको ठूलो सफलता हो। कालोपोथी, सेतोसुर्य र ऐना झ्यालको पुतलीले प्रदर्शनका लागि गर्नुपरेको सङ्र्ष ‘जारी’ ले सोच्नै परेन। यसले कलात्मक चलचित्रको व्यावसायिक पक्षको सबलतालाई समेत प्रमणित गरेको छ। यो चलचित्रको महत्व वर्तमान समय भन्दा पनि भविष्यमा धेरै हुनेछ।

‘कबड्डी’ शृङ्खलाका निर्देशक रामबाबु गुरुङ निर्माता रहनुभएको चलचित्रमा प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङ लगायतले अभिनय गर्नुभएको छ। कार्यकारी निर्माता मणिराम पोखरेल रहनुभएको चलचित्रलाई स्टेसन फाइभले वितरण गरेको हो।

कमेन्ट गर्नुहोस्