सेलेब्सले रुचाए ‘प्रेमा’

फिल्म। शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमा’ को काठमाडौंमा बुधबार साँझ प्रिमियर गरिएको छ । फिल्म हेर्न उपस्थित फिल्मकर्मीले विषयवस्तु, प्रस्तुतीकरण र कलाकारको अभिनयको बारेमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन्। अभिनेता प्रशान्त ताम्राकारले कथावस्तु मन परेको प्रतिक्रिया दिए। ‘राम्रो बनेको छ। सबैको काम राम्रो छ’, अभिनेता ताम्राकारले भने।

फिल्म ‘महापुरुष’मार्फत डेब्यू अभिनेत्री अञ्जना बराइलीले सम्पूर्ण कलाकारको काम राम्रो लागेको बताइन। ‘नेपालमा प्रेम कथामा कमै चलचित्र बन्ने गरेकाछन्। यो बनिरहेका भन्दा फरक छ। अभिनेत्रीलाई प्रेमकथामा काम गर्न रहर हुन्छ’, उनले भनिन्। उपस्थितले फिल्मका तीन कलाकार अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टीश्रेष्ठको तारिफ गरे।

अभिनेता तथा मोडल कुन्साङ लामाले राम्रो रोमान्टिक फिल्म हेर्न पाएको बताए । ‘अहिलेको पुस्ताको प्रेमलाई पर्दामा हेरे जस्तो लाग्यो। शुभेच्छाजी मलाई मन पर्ने कलाकार। उहाँको कामले प्रभावित गर्यो’, उनले भने। अभिनेत्री तथा मोडल सन्ध्या केसीले दर्शकलाई मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको बताइन् । ‘ दर्शकलाई बाँधेर राख्छ’, सन्ध्याले भनिन् ।

फिल्मका अभिनेता अरुण क्षेत्रीले प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट ढुक्क रहेको बताए । ‘हिजोसम्म म न्यूट्रल अवस्थामा थिएँ । किनकि फिल्म बाहिर आइसकेको थिएन । तर आज प्रिमियरमा प्राप्त प्रतिक्रियाले म उत्साहित छु’, अरुणले भने ।अभिनेत्री शुभेच्क्षा खड्काले आफ्नो अभिनयको तारिफ सुन्दा खुशी लागेको बताइन् । ‘म अत्यन्त खुशी छु । मेरो मेहनतलाई सबैले स्वीकारिदिनुभएको छ । मेरो भूमिकाले तारिफ पाउँदा आभारी छु’, शुभेच्क्षाले भनिन् ।

निर्देशक गोविन्द सिंह भण्डारीले फिल्म हेरिरहँदा आफूलाई पात्रसँग कनेक्ट गरेको बताए । ‘मेरो कथा र निर्देशनप्रति दर्शकहरु सहमत हुनुहुन्छ भन्नेमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले म ढुक्क भएँ’, उनले भने ।

निर्माता विवेक घिमिरेले फिल्मको टिमले राम्रो काम गरेको छ भन्नेमा आफू ढुक्क रहेकोमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले थप ढुक्क भएको खुलाए । ‘मैले स्क्रिप्ट पढ्दा खेरी नै फिल्ममा लगानी गर्न मन लागेको थियो । आजको प्रिमियरपछिको प्रतिक्रियाले मेरो लगानी खेर नजानेमा म आशावादी छु’, उनले भने ।

निर्देशकभण्डारीको लेखन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो । फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ । फिल्मको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।

कमेन्ट गर्नुहोस्