फिल्म । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को सोमबार काठमाडौँको मैतिदेवि मन्दिरमा शुभमुहुर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बन्न लागेको यो चलचित्रलाई अनिता पण्डितले लेखन तथा निर्देशन गर्न लागेकी हुन् । यसमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको प्रमूख अभिनय रहनेछ । आश्वि फिल्मसले निर्माण गरेको यस चलचित्रका लाइन प्रोड्युसर शंकर कार्की हुन् ।
मुहुर्तपछि निर्देशक पण्डितले यसको प्रमूख कथा बच्चाको अटिजम समस्या र रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्ष रहेको बताईन् । उनले भनिन्, ‘प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा समेत यस चलचित्रमा रहेको छ । बच्चाको अटिजम समस्या र रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा यसको प्रमूख कथा हो ।’ पेशाले आईटि इन्जिनियर रहेकी उनले आफ्नो चलचित्रप्रतिको प्रबल इच्छालाई मुर्तरुप दिने क्रममा यो चलचित्र निर्देशन गर्न लागेको बताईन् ।
‘मीराः स्याडो अफ अ रेन्बो’की अभिनेत्री सुरविना कार्कीले आफुलाई प्रस्ताव गरिएको भूमिका भिन्न पाएकोले यसमा अभिनय गर्न लागेको बताईन् । अभिनेता निशान चौहानले यसको कथाले समाजमा नयाँ सन्देश दिने बताए । अर्का अभिनेता कैलाश रावलले एक महिलाले आफ्नो जीवनकालमा भोग्नुपर्ने हरेक किसिमका उतार चढावका कथाहरु मर्मस्पर्श रहेको र त्यसमै आधारित यो चलचित्र आफ्नो लागि चुनौति र अवसर दुवै रहेको बताए । यो चलचित्रको छायांकन यसैसाता शुरु हुनेछ । शिवपुरी, पाटन, रानीबन लगायतका स्थानहरुमा यसको छायांकन हुनेछ । चलचित्रमा एलिश कार्कीको संगीत रहनेछ । डिओपी अनिल कटुवाल हुन् भने प्रकाश महरा टेक्निकल हेड हुन् ।











