फागुनमा फिल्म : फुलबारीसँगै छड्के र छक्का पञ्जा शृंखला

फिल्म। फागुन महिनामा तीन नेपाली फिल्म प्रदर्शन हुनेछन्। पहिलोसाता हलमा ‘फुलबारी’ पुगिसकेको छ भने छड्के र छक्का पञ्जाको शृंखला १९ गते एकसाथ प्रदर्शन हुँदैछ। विदेशीसँग नजुधाई प्रदर्शन हुने लिस्ट तयार गरीएता पनि स्वदेशी फिल्म भने ‘भिड्दै’ छन्। यसवर्षकै आश गरिएका ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ प्रदर्शन हुँदा दर्शकसँगै शो पनि बाडिनेछन्।

यसको प्रत्यक्ष घाटा दुवैलाई हुनेनै छ। यद्दपि तीन फिल्म नै फरक श्रेणी तथा दर्शकलाई लक्षित गरेर तयार गरिएको छ। प्रदर्शनरत ‘फूलवारी’ मा अवकाशप्राप्त शिक्षकको जीवनी देखाईएको छ। आफ्नो छोरासँग समय विताउन चाहेको शिक्षक दम्पती र सन्तान बीचको कथा समेटिएको फिल्मलाई रामबाबु गुरुङ्गले निर्देशन गरेका हुन्। ‘परिवारको महत्वलाई एकपटक फिल्मको माध्यमले आमदर्शक समक्ष दर्शाउने कोसिश गरेका छौं। मेरो अघिल्लो फिल्मको तुलनामा यो भिन्न छ’, निर्देशक गुरुङ्गले भने। यसअगाडी उनले यस्तै फरक फिल्म ‘पुरानो डुङ्गा’ निर्देशन गरेका थिए।

यसमा विपिन कार्कीले शिक्षकको भूमिका निर्वाह गरेकाछन्। साथै, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, शिल्पा मास्के सोमनाथ खना, अनुपम शर्मा, मनिष ढकाल,गौमाया गुरुङ्ग, साक्षी सिंह भण्डारीले अभिनय गर्नुभएको छ। यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ ।

दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समुहको ‘छक्का पञ्जा ४’ लाई हेमराज विसीले निर्देशन गरेका छन्। राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको कथामा निर्मल शर्मा र अभिनेत्री निरौला सहभागी हुँदा अघिल्लो तीन शृंखलामा रहेका जीतु नेपाल अलग भएकाछन्। यसमा फिल्मको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका हुन्। ‘विरासत धान्ने फिल्म तयार गरेका छौं। अघिल्लो शृंखलालाई हेरेर आउनुभएको दर्शकलाई यसले निराश बनाउदैन’, दीपकले भने। फिल्ममा नरेन्द्र मैनालीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

युवापुस्ता माँझ लोकप्रिय भएको ‘छड्के’ को सिक्वेल भनिएको ‘२.० छड्के’ ग्याङस्टर श्रेणीको फिल्म हो। प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन ग्याङको कथा देखाईएको फिल्ममा ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी प्रस्तुत भएकाछन्। पहिलोपटक यस किसिमको भूमिका निर्वाह गरेका अनमोल स्टारडम भन्दा पनि कलाकारिता देखाउन प्रत्यत्नशील छन्।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्