अनुगमनमै सिमित ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’

फिल्म। चलचित्र विकास बोर्डले बाग्मती प्रदेश, दोलखा जिल्लाको लाकुरीडाँडामा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अवलोकन तथा अनुगमन गरेको छ । सो क्रममा झण्डै ११ बर्षअघि देखि निर्माण प्रक्रिया थालिएको सिटीमा भएका प्रगति विवरण, नयाँ सम्भाव्यता तथा तीन तहका सरकार र निजी क्षेत्रसँगको लगानी सहकार्यको सम्बन्धमा स्थानीय सरकारसँग छलफल समेत भएको छ ।

राष्ट्रतिद्वारा प्रस्तुत चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा सम्बोधन भएको फिल्म सिटी अवलोकनको क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बोर्ड सदस्य राज कटुवाल, संचालन तथा व्यवस्थापन समितिका संयोजक मदनदास श्रेष्ठ, संचार तथा सुचना प्रविधि मन्त्रालयका सह-सचिव उत्तर कुमार खत्री, मन्त्रालयका उप-सचिव तथा बोर्डका सदस्य सचिव टंक प्रसाद महत, मन्त्रालयका उप-सचिव तथा बोर्ड सदस्य श्रीधर ज्ञवाली, मन्त्रालयका उप-सचिव सुरेन्द्र थापा, बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई, बोर्डकी अधिकृत निर्मला चौलागाईं लगायतको टोलीले फिल्म सिटी रहेको भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिप शंकर चौलागाईं, नगरपालिकाका कर्मचारीहरु, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु लगायतसँग फिल्म सिटीको लगानी सहकार्य, सिटीको महत्व, पर्यटन प्रवर्द्धन, रोजगारी तथा वरपर हुने व्यापारिक केन्द्रको बिषयमा छलफल भएको छ ।

बोर्ड अध्यक्ष केसीले भिमेश्वरमा फिल्म सिटी ल्याउनपर्छ भन्ने योजना ल्याउने बरिष्ठ कलाकार मदनदास श्रेष्ठ तथा सम्बन्धित सम्पूर्ण निकायहरुप्रति आभार व्यक्त गर्दै फिल्म सिटी बन्दा सबैभन्दा खुशी यो देशको कलाकारलाई हुने बताए । छलफलमा नगरपालिकाका प्रमुख मानन्धरले सम्पूर्ण दोलखाबासीले अतिमहत्वपूर्ण फिल्म सिटीलाई सपनाको रुपमा हेरेको बताए । परियोजना सुरु भएको लामो समय बितिसकेको भएता पनि सोचेअनुरुप प्रगति नदेखिएको उनको गुनासो थियो।

बोर्डले केहि बर्ष पहिले लगभग २ हजार रोपनी जग्गामा करिब १६ अर्ब लगानीको डिपिआर तथा मास्टरप्लान तयार गरेको थियो । जसअन्तर्गत विद्युतको प्रसारण लाईन तान्ने, स्टुडियो भित्रपर्ने झण्डै ६ किलोमिटर बाटो कालोपत्रे गर्ने, प्रवेशद्वार तथा सुचना केन्द्र तथा गेष्ट हाउसको लागी तीन वटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको देखिएको छ । ति भवनहरु र प्रवेशद्वार भिमेश्वर नगरपालिका मातहतमा बाग्मती प्रदेश सरकारको लगानीमा तयार हुन लागेका हुन् । केहि महिनाभित्र फिल्म सिटी परियोजनालाई नगरपालिकाले भवन हस्तान्तरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्