सौन्दर्य । ब्युटिसियनहरूको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासका लागि आयोजित ‘न्युलुक ब्युटी फर लाइफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन–८ को ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ। प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै धादिङकी चाँदनी श्रेष्ठ विजेता बनेकी छन्। विजेता श्रेष्ठले २५ हजार रुपैयाँ नगदसहित शीर्ष उपाधि हात पारिन्। साथै उनले ‘बेस्ट हेयर स्टाइलिस्ट’, ‘पब्लिक च्वाइस’ र ‘मल्टिमिडिया’ अवार्डसमेत जितिन्।
बिहीबार राति राष्ट्रिय नाचघरमा सम्पन्न समारोहमा खोटाङकी हिरा राई ‘फस्ट रनरअप’ बनिन्। उनले ‘भ्यूअर्स च्वाइस’ र ‘बेस्ट आईल्यासेस टेक्निसियन’ अवार्डसहित १५ हजार रुपैयाँ प्राप्त गरिन्। त्यस्तै, संगीता राई ‘सेकेन्ड रनरअप’ बन्दै ‘बेस्ट स्क्रिन’ अवार्डसहित १० हजार रुपैयाँ र क्राउन जितिन्। रोज ब्युटी एकेडेमी र बिलक्षण क्रियसन प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा अनिता गुरुङ ‘थर्ड रनरअप’ बन्दै ‘मोस्ट डिसिप्लिन’ अवार्ड जितिन्। स्वस्तिका अधिकारी बिष्टले ‘बेस्ट आई’ र ‘म्यानेजमेन्ट च्वाइस’ अवार्ड जितिन् भने अस्बिना सिंहले ‘बेस्ट स्टाइलिस्ट’सहित ‘अर्गनाइजर च्वाइस’ अवार्ड प्राप्त गरिन्।
त्यस्तै, रेश्मा केसीले ‘बेस्ट ड्रेस’ र ‘मोस्ट इनोसेन्ट’, मिना मोक्तानले ‘मोस्ट ब्यूटिफुल’, सलिना थापाले ‘बेस्ट फिगर’, सम्झना लिम्बुले ‘मोस्ट फोटोजेनिक’, रेखा लामिछानेले ‘मोस्ट बब्ली’ र राधा चौधरीले ‘बेस्ट मेकअप’ अवार्ड हासिल गरिन्। रविना तामाङले ‘मोस्ट ट्यालेन्ट’ अवार्ड जितिन् भने रेणुका कुमारी चौधरीले ‘बेस्ट मेकअप’, गौरी कार्कीले ‘मोस्ट फ्रेन्डली’, चन्द्रा ताम्राकारले ‘बेस्ट स्माइल’, अञ्जु तुलाधर श्रेष्ठले ‘मोस्ट सिभिलिटी’, इशारा गुरुङले ‘बेस्ट क्याटवाक’ र सरस्वती आचार्य गौतमले ‘बेस्ट आयुर्वेदिक थेरापिस्ट’ अवार्ड प्राप्त गरिन्।
ग्रान्ड फिनालेको निर्णायक मण्डलमा अग्रज गायिका देविका बन्दना, अभिनेता श्रीदेव भट्टराई, गणेशमान प्राविधिक शिक्षालय (सीटीईभीटी)की प्रिन्सिपल पशुपति जोशी, फेसन डिजाइनर गोमा अधिकारी धिताल, वरिष्ठ ब्युटिसियन सिता श्रेष्ठ, मञ्जु सापकोटा र सामाजिक अभियन्ता ज्ञानु श्रेष्ठ रहेका थिए। ‘बेस्ट ड्रेस’तर्फ फेसन डिजाइनर गोमा अधिकारी र मितु अधिकारी निर्णायक थिए।
जयन सुब्बा मानन्धरको कोरियोग्राफी र कृष्ण रसालको नृत्य निर्देशन रहेको प्रतियोगिताको निर्देशन सरिता भारतीले गरेकी हुन्। कार्यक्रमको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटाले गरेका थिए। उनले विगत ८ वर्षदेखि यो प्रतियोगिताले ब्युटिसियनहरूको प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारंजितले स्वागत मन्तव्य व्यक्त गर्दै ब्युटिसियनहरूको प्रतिभा उजागर गर्न कार्यक्रम आयोजना गरिएको बताइन्। बिलक्षण क्रियसन प्रा.लि.का अध्यक्ष डब्बु क्षत्रीले धन्यवाद ज्ञापन गर्दै यस्तो कार्यक्रमले ब्युटिसियनहरूलाई व्यक्तित्व विकास र पेशागत उन्नतिका लागि प्रेरणा दिएको उल्लेख गरे।
समारोहमा गायक नारायण थापा, ओम सुनार, सविना सुवेदी, रमेश पाठक तथा गायिका सारिका घिमिरेले सांगीतिक प्रस्तुति दिएका थिए भने ३६० डिग्री डान्स स्टुडियोका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।










