टिभी । पछिल्लो समय नेपालमा पनि विदेशी फ्रेनचाइजी शोहरु बढ्दो छन् । स्वदेशी शोहरु पनि बढ्दै गर्दा विदेशी शोलाई नेपाल भित्र्याउने पनि धेरैछन् । यसैक्रममा ‘कमेडी च्याम्पियन’ गरेर चर्चामा आएको टिमले डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्प’ को घोषणा गरेको छ । गत आइतबार एक कर्यक्रमको आयोजना गर्दै रियालिटी शोको औपचारिक घोषणा गरिएको हो ।
‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँगको सहकार्यमा निर्माण गर्ने शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । साथै , केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह लगायत निर्माताको रुपमा रहेका छन् । १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेनछिन् । भने , जजको रुपमा भने ‘डान्स इन्डिया डान्स-लिल चाम्स’की विजेता तेरियमा मगर, डान्स प्लस सिजन-२ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहनेछन् ।
शोमा होस्टको रुपमा विभिन्न रियालिटी शो होस्ट गरिसकेकी रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइराला रहने छन् । ‘राम्रो नृत्य गर्ने बालबालिकाले प्लेटफर्मको लागि शो सुरु गर्दैछौँ । अब उनीहरु विदेशी प्लेटफर्ममा पुग्नु पर्दैन’ निर्देशक भण्डारीले भने । यो शोलाई ‘कमेडी च्याम्पियन’ को दोस्रो सिजन समाप्त भएपछी सुरु गरिने समेत पत्रकार सम्मेलनमा जनाइयो ।
रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो करियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।










