‘द पोइट आइडल’ टिभीसँगै युट्युबमा

साहित्य । नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ । अमनप्रताप अधिकारीद्वारा निर्माण तथा निर्देशन गरिएको सोको प्रसारण पुस १४ बिहीबार साँझ ८ः३० बाट हुनेछ । सोलाई टेलिभिजनमा हरेक साता बिहीबार र शुक्रबार तथा ओएसआर रियालिटी नामक युट्युब च्यानलमा हेर्न सकिनेछ । असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ६२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको सङ्ख्या ५० भन्दा बढी रहेको थियो । डिजिटल अडिसनबाट छानिएका सहभागीहरूमध्येबाट विभिन्न चरणहरू पार गर्दै १४ जना कविहरू छानिने छन् । सोमा सहभागी कविहरूले कविता लेखन र वाचन गर्नेछन्, र कविता लेख्नका लागि छुट्टाछुट्टै विषय पनि दिइनेछ ।

कार्यक्रममा सहभागीबीच प्रतिस्पर्धा हुनेछ, प्रस्तुति जाँच्ने निर्णयकका साथै दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउनेछन् । अन्तिम १४ बाट हरेक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना ‘द पोइट आइडल’ बन्नेछन् ।

प्रतियोगिताको निर्णायकमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहेकाछन् । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन् । ‘द पोइट आइडल’को विजेताले दस लाख रूपियाँ नगद पाउनेछन् । साथै, यात्रा पब्लिसिङ्ग हाउसका तर्फबाट विजेता कविको ५ लाख बराबरको कवितासङ्ग्रह प्रकाशन गरिनेछ ।

कमेन्ट गर्नुहोस्