देश । आजसम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकर्मीहरूले आफ्नो नजिकको मतदान केन्द्रमा मतदान गरेकाछन् । मतदान गरिसकेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदै कलाकारहरूले राजनीतिमा आउने सङ्केत गरेका छन् । अभिनेता राजेश हमालले लैनचरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई चुनाव लड्ने सङ्केत गरे ।अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका-३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरिन् । उनले चुनावी मैदानमा रहेका कलाकारहरू संसद बन्नु पर्ने बताइन ।
चलचित्र विकास बोर्डको अध्यक्ष समेत रहनुभएका अभिनेता भुवन केसीले काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि आफ्नो चाहना सक्रिय राजनीति रहेको जानकारी दिए । कलाकार निर्मल शर्माले काठमाडौं क्षेत्र नम्बर ४ को सिफल मतदान केन्द्रमा, निर्माता तथा अभिनेता दीपकराज गिरीले काठमाडौं क्षेत्र नम्बर ९ को दहचोक खहरे केन्द्रमा, अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नम्बर ३ को अत्तरखेलस्थित लिटिल बर्ड स्कुल केन्द्रमा मतदान गरेकाछन् ।
हाँस्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले सर्लाही ४ स्थित बरहथवा नगरपालिका वडा नम्बर १५ मा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि दलहरूले कलाकारलाई उचित स्थान दिनुपर्ने बताए । उनले लोकतान्त्रिक गठबन्धनलाई मतदान गरेको उल्लेख गर्दै कलाकार राजनीतिमा आउनु पर्ने विचार व्यक्त गरे । ‘हामी प्रचारप्रसारको माध्यम मात्र नभई नेतृत्व लिन सक्ने क्षमता भएका पनि छौँ । हामीलाई पार्टीले उचित अवसर दिनै पर्छ’, हाँस्यकलाकार रिजालले भने ।









