झापामा ९ , सुनसरीमा २ र कपिलवस्तुमा ४ नयाँ संक्रमित

देश । केहि दिन यता नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या बढ्दो छ । प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका नयाँ ९ संक्रमितको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उनीहरु झापाको केचनकवल गाउँपालिकाका हुन् ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् । योसँगै सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।

यसैगरी मंगलवार विहान मात्र कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ३ सय ९० पुगेको छ ।

कमेन्ट गर्नुहोस्