नकआउट चरणमा पुग्यो इटली

खेलकुद । युरो कप अन्तर्गत वुधवार भएको पहिलो खेलमा रुसले विजयी सुरुवात गरेको छ । रुसले समूह ‘बी’ अन्तर्गत भएको खेलमा फिनल्यान्डलाई १-० को नतिजामा पराजित गरेको छ । अलेक्सी मिरानचुकको निर्णायक गोलले नै रुसलाई विजयी बनाएको हो । पहिलो पटक युरोपियन च्याम्पियनसिप खेलिरहेको फिनल्यान्डविरुद्धको सेन्ट-पिटर्सबर्गस्थित घरेलु मैदानमा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा मिरानचुकको गोलसँगै रुसले अग्रता लिएको थियो । पहिलो खेलमा रुस बेल्जियमसँग ३-० ले पराजित भएको थियो भने फिनल्यान्डले डेनमार्कलाई १-० ले पराजित गरेको थियो ।

यस्तै , वुधबार भएको दोस्रो खेलमा वेल्सले टर्कीलाइ २-० को नतिजामा पराजित गरेको छ । समुह ‘ए’ अन्तर्गत भएको खेलमा आरोन रामसे र कोनर रोबर्ट्सले एक/ एक गोल गर्दै वेल्सलाई विजेता बनाएका हुन् । अजरबैजानको बाकुमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा रामसेले गरेको गोलमार्फत् वेल्सले अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा रोबर्ट्सले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै टर्कीको जित सुनिश्चित गरे । खेलको ६१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने अवसर गुमाएका कप्तान बेलले नै दुवै गोलका लागि मौका सिर्जना गरेका थिए ।

यस्तै , सम्पन्न तेस्रो खेलमा इटलीले विजय हासिल गरेको छ । स्वीट्जरल्याण्डलाई ३–० ले पराजित गरेपछि इटली युरो २०२० मा नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ । २६ औं मिनेटमा म्यानुएल लोकाटेलीले गोल गरेसँगै पहिलो हाफमा अघि रहेको इटलीले दोस्रो हाफको सुरुमै अग्रता बढायो । यसपल्ट पनि लोकाटेलीलै सफल रहे । खेलको अन्तिम मिनेटमा सीरो इम्मोबाइलले गोल गरी ३–० को जित निश्चत गरे । स्वीटजरल्याण्डसँगको विजय उसको लगातार दशौं जित हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्