नेता केसीलाई समानुपातिक सूचीमा राखिएको निर्णय मेरो चाहनाविपरीत हो : गगन

देश । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसीलाई समानुपातिक सूचीमा राखिएको विषयमा आफ्नो संलग्नता रहेको भन्ने हल्लाको खण्डन गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले उक्त निर्णय आफ्नो चाहना र प्रयासविपरीत भएको स्पष्ट पारेका हुन् ।

थापाले लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु, यो मेरो चाहनाविपरीत हो । मेरो अनुरोध र हरसम्भव प्रयासका बाबजुद पनि उक्त निर्णय गरिएको हो ।’

उनले आफू र केसीबीच राजनीतिक दृष्टिकोण र निर्णयहरू कहिलेकाहीँ मिल्ने र कहिलेकाहीँ फरक पर्ने उल्लेख गरेका छन् । विगतमा पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र प्रतिबद्धतासहित प्रतिस्पर्धा गरेको उदाहरण दिँदै यसपटक पनि समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा मतभिन्नता रहेको थापाले बताएका छन् ।

थापाका अनुसार पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने निर्णय गर्दा आफू असहमत भए पनि त्यो निर्णय पार्टी प्रक्रियाअनुसार अघि बढेको हो ।

कमेन्ट गर्नुहोस्