विश्वसनीयता बढाउन बाइडेनले लगाए खोप

विदेश । संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार बाइडेनले डेलावारको न्युवार्कस्थित एक अस्पतालमा गएर सोमबार फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोनाविरुद्धको खोप लगाएका हुन् । उनले खोपको विश्वसनीयता बढाउन र सुरक्षित रहेको सन्देश दिन खोप लगाएको जनाइएको छ ।

अमेरिकाका उपराष्ट्रपति माइक पेन्स, सभामखु नान्सी पेलोसी, सिनेटमा रिपब्लिकन नेता मिच म्याककोनेललगायतले गत शुक्रबार खोप लगाएका थिए । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान्ले भने अर्को साता खोप लगाउने जनाइएको छ ।

बाइडेनले सामाजिक सञ्जालमार्फत आफूले कोरोना खोप लगाएको जानकारी दिँदै लगातारको मेहनतपछि खोप निर्माण गर्ने वैज्ञानिक र अनुसन्धानकर्मीलाई समेत धन्यवाद दिएका छन् । साथै उनले अमेरिकी नागरिकलाई चिन्ता नलिन आग्रह गर्दै कोरोना खोप उपलब्ध भएपछि लगाउन पनि अनुरोध गरेका छन् । अमेरिकामा हालसम्म ३ लाख १९ हजार जनाभन्दा बढीको भाइरसका कारण मृत्यु भइसकेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्