देश । उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवले काठमाडौं जिल्लाको बुढानीलकण्ठ नगरपालिका–३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला (अतिथि गृह) को उद्घाटन गर्नुभएको छ । सो समारोहमा उपराष्ट्रपति यादवसँगै बुढानीलकण्ठ मन्दिरका मठाधिस स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरु श्री गगन कुमार थापा र श्री प्रदिप पौडेल, भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख श्री डा. शिवराज पण्डित, बुढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारीको उपस्थिति थियो ।
नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत नेरु ५ करोड अनुदान सहयोगमा सो धर्मशालाको निर्माण गरिएको जनाइएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) र शहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो ।नवनिर्मित यस साढे तीन तल्ले धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउनहुने हजारौं तीर्थयात्रीलाई सेवा दिेनेछ । नेपालको पवित्र साँस्कृतिक एवम् धार्मिक स्थलहरुमध्येकै एक मानिने बुढानीलकण्ठ मन्दिरको ठूलो महत्व रहेको छ ।
यस परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहिआएको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यमा नेपाल सरकारले गरेको प्रयासको कदर गर्दछ ।
भारत सरकारले नेपालको सातवटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रविबद्धता गरेको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा पचास हजार निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा एकसय ३२ वटा स्वास्थ्य सुविधा पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको छ ।








