पाकिस्तानको विमान दुर्घटना दशककै ठुलो

विदेश । पाकिस्तानको कराँचीमा शुक्रबार दिउँसो ९९ जना यात्रुसहितको जहाज दुर्घटना भयो । विमानमा ८ जना चालक दलका सदस्य थिए भने ९१ जना यात्रु थिए । उक्त विमान दुर्घटनामा कम्तिमा ६६ जनाको मृत्यु भएको जनाइएको छ । लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तानको राष्ट्रिय कम्पनीको जहाज मानव बसोबास भएकै ठाउँमा दुर्घटनाग्रस्त भएको थियो ।

जहाज असन्तुलित भएपछि दुई वा तीन पटकसम्म अवतरणको प्रयास गरिरहेको तर विफल भएको प्रत्यक्षदर्शीले बताएका छन् । कोरोनाभाइरस महामारीसँग जुधिरहेको पाकिस्तानमा भएको यस घटनाप्रति दुख व्यक्त गर्दै नेपाल, भारत, चीन, बंगलादेश लगायत देशका प्रमुखहरुले समवेदना प्रकट गरेका छन् । पाकिस्तानमा पछिल्लो दशकमै यो ठूलो विमान दुर्घटना हो । यसअघि २०१६ मा ४० जनाको मृत्यु हुने गरी विमान दुर्घटना भएको थियो । त्यसअघि २०१० मा भएको दुर्घटनामा १ सय ५२ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनाको पूर्ण विवरण अझै आइसकेको छैन ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्