अर्थमन्त्री महतद्वारा सञ्जिवनी वाटिका उद्घाटन

देश । ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसर पारेर सञ्जिवनी वाटिकाको वृद्धाश्रम भवन समुदघाटन गरिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ स्थित मदर्शा टोलमा निर्माण भएको वाटिकाको नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतले गत आइतबार उद्घाटन गरे । उनले स्थानीयस्तरमा हुने यस्ता सामाजिक कामले समाजलाई सकारात्मकतातर्फ अग्रसर गराउने भन्दै तारिफ गर्नुका साथै सहयोगका लागि तयार रहेको बताए ।

अर्थमन्त्री महतले अर्थतन्त्र सुधार गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउदै देशमा उत्पन्न हरेक आर्थिक सङ्कटलाई हल गर्ने गरी काम अगाडि बढाइरहेको जानकारी दिए । उनले भने,‘नाकाहरूलाई व्यवस्थित गर्न बन्द उद्योगहरूलाई सञ्चालनमा ल्याउने, उद्योग व्यापारलाई वृद्धि गर्न, उत्पादन बढाउन, राजस्व चुहावटलाई रोक्न, शेयर बजारलगायतका कामहरू सरकारले तदारुकताका साथ अगाडि बढाइरहेको छौँ, देशको अर्थतन्त्र लयमा आइरहेको छ ।’

उनले केही व्यक्ति विशेषले नेपालमा अर्थतन्त्र खस्केको भन्ने भ्रामक प्रचारबाजी गरी विदेशीहरूलाई नेपालमा लगानी गर्न नदिनेसम्मको भ्रम छर्ने गरेको भन्दै उनीहरूले भनेजस्तो नेपालको अर्थतन्त्र कमजोर नरहेको र पहिलाभन्दा अहिले धेरै सुधार भएको बताए ।

सो अवसरमा बारामा जिल्लामा रहेर समाजमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका दुई जना ज्येष्ठ नागरिक छट्टु यादव र नन्दन अर्याललाई सम्मान प्रदान गरिएको थियो । साथै वाटिका निर्माणका क्रममा सहयोग गर्ने विभिन्न दाताहरुलाई समेत सम्मानित गरिएको थियो ।

बाटिकाका संस्थापक अध्यक्ष नेपाल सरकारका पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका सह महामन्त्री फर्मुल्लाह मन्सूरको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश साँसद देवनारायण चौधरी, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, जीतपुरसिमरा उपमहानगर पालिका वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ता, प्रजिअ नवराज सापकोटा, डिलाराम पन्थी, महासेनानी बिनोद चन्द, कर अधिकृत राजकुमार खतिवडा, प्रेम देवकोटा, प्रहरी उपरीक्षक सुरेश काफ्ले,राजेन्द्र खड्का, डिएसपी प्रदीप क्षेत्री, रास्ट्रिय अनुसन्धानका एसपी अभिनव सिंहलगायत सयौ समाजसेवि तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्