फिल्म । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ । तिहार सकिए लगतै कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम र बिछोड देखाइएको छ । टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको यो चलचित्रको सार्वजनिक तीन मिनेट लामो ट्रेलर अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको अभिनेत्री शिल्पा थापासँगको प्रेम र बिछोडमा केन्द्रीत छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिएको ‘मीलन’मा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र बिशोल पहाडीको मुख्य भूमिका रहेको छ । यसै चलचित्रबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दैछन् ।
कार्यक्रममा अभिनेता बस्नेतले यो फिल्म आफ्नो मनको नजिक रहेको बताए । ‘मलाई मन पर्ने फिल्म मध्ये यो पर्छ । युवापुस्ताको कथा फिल्ममा भनेका छौँ’, उनले भने । नव अभिनेता ठकुरीले आफूलाई विश्वास गरेर अवसर दिएकोमा धन्यवाद दिए । ‘यो मेरो पहिलो अनुभव हो ठुलो पर्दामा । धेरै कुरा सिकेको छु’, उनले भने । डेब्यु अभिनेत्री थापाले पनि उस्तै अनुभव साटिन् ।
निर्देशक टेक पौरखी राईले निर्देशन गरेको यो तेस्रो फिल्म हो । यसअघि उनले ‘मट्टी माला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् । फिल्ममा जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।








