यसरी फिल्ममा आइपुगिन् प्रशंसा

फिल्म । जेनजी अभियन्ताको रुपमा चर्चामा आएकी प्रशंसा सुवेदीले फिल्म ‘लालीबजार’ मार्फत आफ्नो अभिनय यात्राको सुरुआत गरेकी छिन् । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ मा अडिसनमार्फत उनले अभिनय गर्ने अवसर पाएकी बताइन ।

उनले भनिन्, ‘मलाई फिल्ममा पहिले पनि काम गर्ने रहर थियो, पहिला अडिसन दिदा सायद छनोट हुन् सकिन । लालीबजारमा काम गर्ने प्रस्ताव आएपछि फेरी अडिसन दिएँ, यसपटक छनोट भए र काम गरेकी छु ।’

उनले फिल्ममा छनोट हुनुको कुनै सम्बन्ध जेनजी पुस्ताले भ्रष्ट्राचार विरुद्ध गरेको आन्दोलनसँग नभएको बताइन । ‘मलाई धेरैले जेनजी आन्दोलन पश्चात चिन्नुभएकोले त्यसकारण फिल्ममा आएँ भन्ने लाग्न सक्छ, तर म असार मै फिल्ममा काम गर्ने भईसकेको थिएँ, जबकी आन्दोलन भदौमा भएको हो । म फिल्ममा अभिनय गर्न पाउँदा निकै खुसी छु’, उनले भनिन् ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ, डेब्यु कलाकार विशाल देवकोटा, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारी लगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनय यात्रा सुरु गरेका छन् ।

फिल्ममा यम थापा को निर्देशनसँगै कथा लेखन रहेको छ। फिल्मको पटकथा तथा संवाद निर्देशक थापासँगै प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार गरेका छन् । आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ ले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्