‘प्रेमगीत ३’ प्रकरणमा विकास बोर्डको स्पष्टिकरण

फिल्म । प्रदर्शनरत फिल्म ‘प्रेम गीत ३’ को विषयमा चलचित्र विकास बोर्डले आफ्नो आधिकारिक धारणा व्यक्त गरेको छ । प्रदर्शनमा अनेक अवरोध खेपिरहेको आरोप पाएको बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै निर्माण टिमले आवश्यक कागजात नबुझाएकाले हिन्दी भर्जन रोकिएको स्पष्ट पारेको छ । बोर्डले विभिन्न मितिमा भएका पत्राचारको फेहरिस्त प्रस्तुत गर्दै फिल्म निर्माण कम्पनी आशुसेन फिल्मस्ले विना करचुक्ताको प्रमाण पेश गरी सेन्सर सिफारिस लिएर गएर गएको तर १५ दिन भित्र बुझाउने कबुल गरेर पनि नबुझाएपछि हिन्दीको सेन्सर प्रक्रिया रोकिएको स्पष्ट पारेको छ ।

बोर्डले हिन्दीको प्रदर्शनका लागि स्वरांकनका लागि अनुमति लिनुपर्ने तर करचुक्ता नभएका कारण कम्पनीले गत ७ गते मात्र यसको कागजपत्र बुझाएकोले ७ गते स्वरांकनको अनुमति दिएको र आइतबार हिन्दी भर्जनको सेन्सर सिफारिस दिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिले बोर्ड अध्यक्ष भुवन केसीलाई मन्त्रालयले स्पष्टिकरण सोधेको विषयमा पनि धारणा राखेको छ । बोर्डले जारी गरेको विज्ञप्तिअनुसार एक पटक नेपाली सरह सेन्सर भइसकेको फिल्मलाई पुनः विदेशी सरह सेन्सर गर्नुपर्ने बाध्यता किन आइलाग्यो भन्ने प्रश्नको छलफलका लागि मन्त्रालयले बोर्ड अध्यक्ष भुवन केसीलाई मन्त्रालय डाकेको हो ।

बोर्डले विज्ञप्तिमा आफू नीतिनियमबद्ध नियामक निकाय भएकाले कानुनले दिएको अधिकार मात्र प्रयोग गर्न सक्ने संस्था भएको जनाउँदै सेवाग्राहीको कुनै पनि काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको बताएका छ । योसँगै ‘प्रेम गीत ३’ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्याएकोमा बोर्डबाट कार्यक्रम गरी स प्रोत्साहित गरेको समेत बताएको छ ।

कमेन्ट गर्नुहोस्