अस्करमा ‘ऐना झ्यालको पुतली’ पठाइने

फिल्म । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५ औं एकेमेडी अवार्ड (अस्कर अवार्ड)मा नेपालको प्रतिनिधित्व’ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सिफारिस गर्ने निर्णय गर्दै छनौट गरेको हो । गत सोमबार विमल पौडेलको अध्यक्षतामा बसेको बैठकले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।

प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्य शैली र प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई विश्लेषण गरेर छनौट गरेको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले बताउनुभयो । उहाँले भन्नुभयो ,’हामीलाई तीन फिल्म प्राप्त भएको थियो । ऐना झ्यालको पुतली अहिले हामीले खोजिरहेको कलात्मकता बोकेको फिल्म नै हो । त्यसैले हाम्रो निर्णय यसलाई नै नेपालको प्रतिनिधित्व गरेर पठाउने भएको हो ।’

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिद्वारा अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरिएको थियो । सोही सूचना अनुसार नेपालबाट अस्करको प्रतिस्पर्धामा सामेल हुन् दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ को आवेदन प्राप्त भएको थियो ।

कमेन्ट गर्नुहोस्